घटना एकः
नेपाली राष्ट्रिय महिला क्रिकेट टिम कात्तिक तेस्रो साता टी-२० विश्वकप छनोटको तयारीका लागि बंगलादेश गएको थियो। एक साता बंगलादेशमा तयारी गरेपछि स्वदेश फर्कने क्रममा टिमले नसोचेको हैरानी खेप्न पर्यो।
व्यवस्थापकको कमजोरीले गर्दा नेपाली टिमको फ्लाइट छुट्यो।
लगेज लिएर ढाकाको अन्तर्राष्ट्रिय विमानस्थल पुगेका नेपाली टिमलाई विमानस्थलका कर्मचारीले भित्र छिर्न दिएनन् किनभने नेपाली टिमसँग कोरोना भाइरस परीक्षणको पिसिआर रिपोर्ट थिएन।
नेपाल फर्कन पिसिआर रिपोर्ट अनिवार्य हुने व्यवस्थापकको रूपमा बंगलादेश गएकी क्यानकी केन्द्रीय सदस्य जयन्ती भट्ट र प्रशिक्षक जगत टमाटालाई कुनै हेक्का भएन।
नेपाली खेलाडीलाई विमानस्थलमा रोकिएपछि नेपाल क्रिकेट संघ (क्यान) मा खैलाबैला मच्चिएको थियो। फ्लाइट छुटेपछि खेलाडीलाई क्यानले बसबाट नेपाल फर्काउने निर्णय गर्यो।
बसबाट भारत हुँदै झापा आउन पनि पिसिआर रिपोर्ट चाहिने भएपछि महिला क्रिकेटरको ढाका विमानस्थलमै स्वाब लिइएको थियो। त्यतिन्जेल नेपाली खेलाडी आफ्नो लगेज कुरेर विमानस्थलमै बसेका थिए। विमानस्थलमा ६ घन्टा बढी बिताएपछि नेपाली टिम बस चढेको थियो।
व्यवस्थापनको कमजोरीले गर्दा नेपाली टिम दोस्रो दिनमात्र स्वदेश आइपुग्यो। व्यवस्थापकीय कमजोरी नभएको भए नेपाली टिम एक घन्टामै स्वदेश आइपुग्थ्यो।
घटना दुईः
राष्ट्रिय क्रिकेटरको वर्गीकरण सन् २०२१ को सुरूवातमै गरेर सम्झौता गर्नुपर्ने थियो। तर क्यानले २०२१ को सुरुवाती तीन महिनाको तलब सन् २०२० कै वर्गीकरणको आधारमा दियो। सन् २०२१ को वर्गीकरण गर्न त्यसपछि मात्र क्यानले समिति गठन गर्यो।
सन् २०२१ सकिन दुई महिना बाँकी छँदा क्यानले वर्गीकरण गर्दै खेलाडीलाई सम्झौता गर्न छुट्टाछुट्टै बोलायो। कति खेलाडीले हस्ताक्षर गरे, कतिले गरेनन्।
सन् २०२१ सकिन दुई महिना बाँकी छँदा वर्गीकरण गरेकाले अघिल्लो महिना सम्पन्न भएको ओमान सिरिजमा राम्रो खेलेका खेलाडीलाई पनि समावेश गर्न कप्तान ज्ञानेन्द्र मल्लले माग गरे। यस्तै उनले खेलाडी वर्गीकरणमा त्रुटी भएको भन्दै सच्चाउन क्यानका कार्यवाहक सचिव प्रशान्तविक्रम मल्ललाई फोन गरे।
एक साता बढी सयमसम्म कुनै प्रतिक्रिया नआएपछि ज्ञानेन्द्रसहित उपकप्तान दीपेन्द्रसिंह ऐरी, अलराउन्डर सोमपाल कामी र तीव्र गतिका बलर कमलसिंह ऐरीले सेतोपाटीमा आफ्ना असन्तुष्टि व्यक्त गरे।
स्पष्टीकरणको श्रृंखलाः
खेलाडीले आफ्ना असन्तुष्टि सार्वजनिक गरेपछि क्यानको फेसबुक च्याट ग्रुपमा सदस्यहरूबीच चर्काचर्की भयो।
खेलाडीहरूले क्यानलाई बदनाम गरेको भन्दै कार्यवाहक सचिव प्रशान्तविक्रम मल्लले स्पष्टीकरण सोध्ने विषयमा अध्यक्ष चतुरबहादुर चन्दसँग कुरा भएको बताए।
त्यसमा कतिपय सदस्यले खेलाडीसँग छलफल गरेर समस्या समाधान गर्ने बताए। तर नेतृत्व पक्ष खेलाडीसँग छलफल गर्ने पक्षमा देखिएनन्। तिहारलगत्तै खेलाडीहरूलाई मिडियामा बोलेको भन्दै स्पष्टीकरण सोधियो।
क्यानले बंगलादेशमा पिसिआर रिपोर्टका कारण नेपाली टिमको फ्लाइट छुटेको विषयमा पनि व्यवस्थापक जयन्ती भट्ट र प्रशिक्षक जगत टमाटालाई स्पष्टीकरण सोध्यो।
खेलाडीहरूले वर्गीकरणमा त्रुटी भएको भन्दै मिडियामा बोलेको र त्रुटी सच्चाउन माग गर्दै स्पष्टीकरण दिए। स्पष्टीकरण दिएलगत्तै खेलाडीहरूले ११ बुँदे माग क्यानसमक्ष राखे। यस्तै खेलकुद परिषद्का नवनियुक्त सदस्य सचिव टंकलाल घिसिङलाई पनि भेटे।
त्यसपछि क्यानले खेलाडीलाई दोस्रो पटक स्पष्टीकरण सोध्यो। फेरि पनि खेलाडीहरूले पुरानै अडान दोहोर्याए।
कारबाही र उन्मुक्तिः
गत बुधबार क्यानको बोर्ड बैठकमा दुई घटनाको विषयमा सोधिएको स्पष्टीकरणको विषयमा छलफल भयो। छानबिन समितिले आफ्ना असन्तुष्टि पोख्ने खेलाडीलाई कारबाहीको सिफारिस गर्यो।
महिला क्रिकेट टिमका व्यावस्थापकमाथि भने कुनै कारबाहीको सिफारिस भएन। छानबिन समितिले व्यवस्थापकहरूले ‘माफी मागेको’ भन्दै प्रतिवेदन दिएको थियो।
समितिले व्यवस्थापकलाई स्पष्टीकरण सोध्दा ‘कार्यालयबाट समन्वय नभएको, आगामी दिनमा गल्ती नदोहोर्याउने,’ बताएका थिए। यस्तै प्रशिक्षक जगत टमाटाले पिसिआरको कुरा व्यवस्थापक जयन्ती भट्टले हेर्नु पर्ने पक्ष भएको बताएका थिए। यस्तो स्पष्टीकरणपछि क्यानले दुबै व्यवस्थापकलाई सामान्य सचेत गरायो।
पुरूष टिमका खेलाडीहरूलाई भने आचारसंहिताको उल्लघंन गरेको भन्दै कारबाही गर्यो। मिडियामा क्यान अध्यक्ष चन्दले कप्तानले गुटबन्दी गरेको गम्भीर आरोप लगाउँदै अनुशासनको कारबाही गरेको बताए।
व्यवस्थापकलाई कारबाही गर्नुपर्छ: पूर्वकप्तान क्षेत्री
नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान एलबी क्षेत्री महिला टिमलाई बिचल्ली पार्ने व्यवस्थापकलाई कारबाही गर्नु पर्ने बताउँछन्।
खेलाडी कारबाही प्रकरणको विषयमा सेतोपाटीसँग कुरा गर्दै क्षेत्रीले व्यवस्थापकमाथि कारबाही नभएको विषयमा प्रश्न उठाए।
‘बंगलादेशबाट टिम फर्किँदा पिसिआर गर्नु पर्छ/पर्दैन थाहा नपाउने व्यवस्थापकमाथि कारबाही हुनुपर्ने कि नपर्ने? उहाँहरूलाई अबउप्रान्त असक्षम भन्दै व्यवस्थापक हुन प्रतिबन्ध लगाउनु पर्ने कि नपर्ने?,’ क्षेत्रीले प्रश्न गरे, ‘नेपाली टिमको फ्लाइट छुट्यो। त्यसको जिम्मेवारी कसले लिने? क्यानले व्यवस्थापकीय क्षमता जाँच नगरी त्यस्तो ठाँउमा पठाउँदा देशको बेइज्जत भयो कि भएन?’
उनले पदाधिकारीको हकमा क्षमायचना गरेर सकिने तर खेलाडीको हकमा देशलाई दिएको योगदान कदर नगरी कारबाही गरिएकोमा पनि असन्तुष्टि पोखे।
‘यो पनि त अनुशासनको दयराभित्रको कुरा हो। एउटा पत्र लेखेर क्षमायाचना गर्नुभयो, अनि सक्कियो?,’ उनले भने।