नेपालका लेग स्पिनर सन्दीप लामिछाने सिजनको बिग ब्यास लिगको आफ्नो चौथो खेलमा विकेटविहीन भएका छन्।
सोमबार पर्थ स्कोरचर्सविरूद्धको खेलमा होबार्ट हरिकेन्सका बलर सन्दीपले चार ओभर बलिङ गर्दा विकेट लिन सकेनन् भने ४० रन खर्चिए। उनले ४ बल डट फ्याँक्दा ३ चौका र २ छक्का दिएका थिए।
सोमबार होबार्टविरूद्ध टस जितेर पहिले ब्याटिङ गरेको पर्थले ७ विकेटको क्षतिमा १६७ रन जोडेको छ। पर्थका लागि कर्टिस प्याटर्सनले ७८ रनको योगदान दिए। बलिङमा होबार्टका जोर्डन थमसन र टम रोगर्सले २-२ विकेट लिए।
सन्दीप जारी सिजनमा चार खेल खेल्दा दुई खेलमा विकेटविहीन बनेका छन्। उनले बाँकी दुई खेलमा एक एक विकेट लिएका छन्।
यसअघि सन्दीपले पहिलो खेलमा सिड्नी सिक्सर्सविरूद्ध १ विकेट लिँदा २४ रन खर्चिएका थिए।
दोस्रो खेलमा भने सन्दीप अभागी साविक बनेका थिए। सिक्सर्सविरुद्धकै दोस्रो खेलमा सन्दीपको बलमा तीन क्याच र एक स्टम्पपिन छुटेको थियो। जसका कारण सन्दीपले २४ रन दिँदा विकेटविहीन बनेका थिए।
पर्थविरूद्धको तेस्रो खेलमा सन्दीपले एक विकेट लिएका थिए।