धनगढीमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत सोमबार भएका खेलमा घरेलु टोली सुदुरपश्चिम प्रदेश र विभागीय टोली एपिएफ विजयी भएका छन्। समूह बीअन्तर्गत फाप्ला मैदानमा भएका खेलमा सुदूरपश्चिम प्रदेशले गण्डकी प्रदेश र एपिएफले प्रदेश नम्बर २ लाई हराएको हो।
फाप्ला मैदानमा सोमबार भएको दोस्रो खेलमा सुदूरपश्चिम प्रदेशले गण्डकी प्रदेशलाई ९ विकेटले हराएको हो।
टस जितेर पहिले ब्याटिङ गरेको गण्डकी प्रदेशले १८ ओभरमा सबै विकेट ३१ रन बनाउँदा गुमायो। गण्डकीका लागि कुनै पनि ब्याटरले दोहोरो रन अंक जोड्न सकेन्।
सुदूरपश्चिमका लागि कविता जोशी र दीपा जोराले दुई दुई विकेट लिए। कविता कुँवर र ईश्वरी विष्टले एक एक विकेट लिए। गण्डकीका चार जना खेलाडी रनआउट भए।
३२ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम प्रदेशले एक विकेट क्षतिमा लक्ष्य भेट्टायो। सुदुरपश्चिमले दुई दशमलब १ ओभरमा लक्ष्य पूरा गरेको हो। कविता जोशीले ८ रन र शोभा रोकायाले ५ रन बनाईन। सुदुरपश्चिमले १९ रन अतिरिक्त पायो । खेलमा दुई विकेट सहित ८ रन बनाएकी सुदुरपश्चिमकी कविता जोशी प्लेयर अफ द म्याच भईन्।
पहिलो खेलमा एफिएफले प्रदेश २ लाई ४८ रनले पराजित गरेको छ। टस हारेर पहिले ब्याटिङ गरेको एपिएफले ८ विकेट क्षतिमा ९८ रन बनायो। विहानको हुस्सु र सितलहरले ढिलो गरी खेल सुरु हुँदा १५ ओभरमा घटाईएको खेलमा एपिएफका लागि ज्योती पाण्डेले २४ रन, इन्दु बर्मा २१ रन, रोमा थापाले १४ रन र ममत चौधरीले ११ रन जोडे। प्रदेश २ का लागि विमला मगरले तीन विकेट लिईन्। त्यस्तै अनुराधा चौधरी, रोजी खड्का र सन्तोषी चौधरीले एक एक विकेट लिईन् ।
९९ रनको विजय लक्ष्य पछ्याएको प्रदेश २ ले १५ ओभरमा ९ विकेट गुमाउँदा ५० रन मात्रै बनाउन सक्यो। प्रदेश २ का लागि मेलिना रायमाझीले २० रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो रन अंक छुन सकेनन्। एपिएफका लागि सुक्ष्मा श्रेष्ठले दुई विकेट लिईन्। सोनु खड्का, रेखा रावल सीता राना मगर र करुणा भण्डारीले एक एक विकेट लिईन्। खेलमा एपिएफकी सुष्मा श्रेष्ठ प्लेयर अफ द म्याच भईन् ।
प्रतियोगिता अन्तर्गत मंगलबार समुह ए का दुई खेल हुनेछन्। पहिलो खेलमा प्रदेश १ र लुम्बिनी प्रदेश खेल्नेछन् । सेमिफाईनल पुगेका दुबै टोलीको खेलले समुह ए को विजेता र उपविजेताको टुङगो लगाउनेछ। मंगलबारकै अर्को खेलमा कर्णाली प्रदेश र बागमति प्रदेश खेल्नेछन्। प्रतियोगिताबाट बाहिरिएका दुबै टोली सान्तवना जितका लागि खेल्नेछन्।