धनगढीमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको समूह ‘ए’बाट प्रदेश १ विजेता र लुम्बिनी प्रदेश उपविजेता बनेका छन्।
समूहबाट यसअघि नै सेमिफाइनल पुगेका दुवै टिमबीचको खेलमा लुम्बिनीलाई प्रदेश १ ले हरायो। जितसँगै प्रदेश १ समूह एको विजेता र लुम्बिनी उपविजेता बनेका हुन्।
फाप्ला मैदानमा मंगलबार भएको पहिलो खेलमा प्रदेश नम्बर १ ले लुम्बिनी प्रदेशलाई ६७ रनले हराएको हो।
प्रदेश १ ले टस जितेर पहिले ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ३ विकेट क्षतिमा ११४ रन बनायो। प्रदेश नम्बर १ का लागि अप्सरी बेगमले सर्वाधिक ४४ रन बनाइन्। काजल श्रेष्ठले ४० रन बनाउँदा कप्तान रुविना क्षेत्रीले १५ रन थपिन्।
लुम्बिनी प्रदेशका लागि नेरी थापा, मधु डिसी र सरस्वती पुनले एक एक विकेट लिइन्।
११५ रनको विजय लक्ष्य पछ्याएको लुम्बिनीले ९ विकेट क्षतिमा ४७ रन बनायो। लुम्बिनीको लागि कुनै पनि ब्याटरले दोहोरो रन अंक जोड्न सकेनन्।
प्रदेश १ की कप्तान रुविना क्षेत्रीले तीन विकेट लिइन्। अलिशा खाडियाले दुई र संगिता राईले एक विकेट लिइन्।
प्रतियोगितामा वागमती प्रदेशले सान्त्वना जित हात पारेको छ। समूह ए अन्तर्गतको अन्तिम लिग खेलमा वागमतिले कर्णाली प्रदेशलाई ७९ रनले हराएको हो। कर्णालीले जितविहीन भएर प्रतियोगिता टुङग्याएको छ।
मंगलबारको दोस्रो खेलमा टस जितेर पहिले ब्याटिङ गर्दै वागमति प्रदेशले निर्धारित २० ओभरमा ६ विकेट क्षतिमा १३० रन बनायो। वागमतीका लागि कञ्चन श्रेष्ठले अविजित ४७ रन जोडिन्। त्यस्तै हेलिशा गुरुङले २५ रन र अस्मिना कर्माचार्यले १६ रन बनाइन्।
कर्णाली प्रदेशका लागि दिव्या धामीले ३ विकेट लिइन्। एन्जिला क्षेत्रीले २ र निशा पराजुलीले एक विकेट लिए।
१३१ रनको विजय लक्ष्य पछ्याएको कर्णाली १८ दशमलव ३ ओभरमा ५१ रनमा समेटियो। कर्णालीका लागि लक्ष्मी रिमालले सबैभन्दा बढी १४ रन बनाईन्। वागमतीका लागि आरती विडारी र विपिशा शाहीले तीन तीन विकेट लिईन्।
प्रतियोगिता अन्तर्गत बुधबार समुह बीका दुई खेल हुनेछन्। पहिलो खेलमा सुदूरपश्चिम प्रदेश र विभागीय टीम एपिएफ क्लब खेल्नेछन्। बुधबारकै अर्को खेलमा गण्डकी प्रदेश र प्रदेश नम्बर २ खेल्नेछन्।