भोलि बिहिबारदेखि युएईमा सुरू हुने यू–१९ एसिया कपमा नेपाल र बंगलादेशबीचको खेल एक दिनपछि सरेको छ। नेपाल र बंगलादेश तथा युएई र श्रीलंकाबीचको खेल तालिका हेरफेर भएको हो।
शारजाह क्रिकेट स्टेडियममा भोलि हुने नेपाल र बंगादेशको खेल एक दिन पछि सरेको छ भने शुक्रबार हुने श्रीलंका र कुवेतबीचको खेल भोलि हुने गरी एसीसीले नयाँ तालिका सार्वजनिक गरेको हो।
नेपालले दोस्रो खेल पुस ११ मा श्रीलंकासँग र पुस १३मा कुवेतसँग खेल्नेछ।
यू-१९ एसिया कपमा नेपालसँगै बंगलादेश, श्रीलंका र कुवेत समूह बी मा छन्।
समूह ए मा भारतसहित अफगानिस्तान, पाकिस्तान र युएई छन्।
समूह ए का खेल दुबई र बी का खेल शारजाहमा हुनेछन्। आगामी पुस १६ गतेसम्म चल्ने एसिया कपमा दुबै समूहका शीर्ष दुई दुई टोली सेमिफाइनलमा पुग्नेछन्।
नेपाली यूः१९ टोली :
देव खनाल (कप्तान), शेर मल्ल (उप-कप्तान), दीपेश कँडेल, विवेक यादव, गुलशन झा, विवेक रानामगर, सन्तोष कार्की, आदिल अन्सारी, तिलक राज भण्डारी, अर्जुन कुमाल, बशिर अहमद, दुर्गेश गुप्ता, प्रकाश जैसी, अर्जुन साउद र राहुल भण्डारी ।