टेष्ट राष्ट्र आयरल्याण्डलाई टी–२० सिरिजको पहिलो खेलमा अमेरिकाले २६ रनले हराएको छ। टी–२० क्रिकेट इतिहासमा अमेरिकाले पहिलोपटक आयरल्याण्डलाई हराएको हो।
गएराति भएको खेलमा अमेरिकाले दिएको १८८ रनको लक्ष्य पछ्याएको आयरल्याण्ड निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १६२ रनमा समेटिएको थियो।
आयरल्याण्डका लागि लोर्कन टुकेरले सर्वाधिक ५७ रन बनाए। ४९ बल खेलेका उनले ३ चौका र २ छक्का प्रहार गर्दै अभिजित रहे।
पल स्ट्रलिङले ३१, शाने गेटकाटेले १९, तथा कर्टिसले १७ रन बनाउनुबाहेक बाँकी ब्याटरले भने दोहोरो अंकमा समेत रन जोड्न सकेनन्।
आयरल्याण्डलाई रोक्न अमेरिकाका सौरभ नेत्रावल्कर, अलि खान र निर्सग पटेलले दुई/दुई विकेट लिए।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अमेरिकाले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १८८ रन बनाएको थियो।
उसका लागि तल्लो क्रमका ब्याटर गजानन्द सिंह, सुशान्त मोदानी र मार्टी केनले उत्कृष्ट प्रदर्शन गरे ।
गजानन्दले ४२ बलमा पाँच छक्का र तीन चौकासहित ६५ रन बनाए। मोदानीले ३९ बलमा एक छक्का र तीन चौकाको सहयोगमा ५० रन बनाए। त्यस्तै, मार्टीले १५ बलमा तीन छक्का र तीन चौकाको मद्दतमा अविजित ३९ रनको पारी खेले मोदानी र केनले डेब्युमै उत्कृष्ट प्रदर्शन गरेका हुन्।
आयरल्याण्डका लागि ब्यारी म्याकार्थीले चार, सिमी सिंह र बेन ह्वाइटले एक/एक विकेट लिए।
योसँगै दुई खेलको सिरिजमा अमेरिकाले १–० को अग्रता बनाएको छ। यी दुई टोलीबीचको दोस्रो तथा अन्तिम टी–२० शुक्रबार हुनेछ। टी–२० पछि दुवै टिमले तीन खेलको एकदिवसीय सिरिज खेल्नेछन्।