उत्तम कर्माचार्यले नेपाल क्रिकेट संघ (क्यान) को खेलाडी छनोट समितिको संयोजकबाट राजीनामा दिएका छन्।
क्यानले चार क्रिकेटरलाई कारबाही गरेको एक सातापछि कर्माचार्यले राजीनामा दिएका हुन्। कर्माचार्य नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान समेत हुन्।
उनलाई गत वर्ष क्यानले खेलाडी छनोट समितिको संयोजकको जिम्मेवारी दिएको थियो। त्यसपछि उनकै संयोजकत्वमा राष्ट्रिय टिमका लागि खेलाडी छनोट हुँदै आएको छ।
तर पछिल्लो समय ज्ञानेन्द्र मल्ललाई कप्तान र दीपेन्द्रसिंह ऐरीलाई उपकप्तानबाट क्यानले हटाएपछि कर्माचार्यले कारबाही गर्ने प्रक्रियाप्रति प्रश्न उठाएका थिए।
खेलाडी वर्गीकरणमा सेतोपाटीमा आफ्ना असन्तुष्टि व्यक्त गरेका मल्ल र ऐरीसहित सोमपाल कामी र कमलसिंह ऐरीलाई सन् २०२२ को पहिलो ६ महिना वर्गीकरणबाट प्राप्त हुने तलब पनि नदिने क्यानले निर्णय गरेको थियो।
कर्माचार्यले छनोट समितिबाट बुधबार राजीनामा बुझाएका थिए। बुधबार नै क्यानका ६ जना केन्द्रीय सदस्यले खेलाडीहरूलाई बुहमतको आधारमा नियोजितरूपमा कारबाही गरेको भन्दै पत्रकार सम्मेलमार्फत विरोध जनाएका थिए।