नेपाल क्रिकेट संघ (क्यान) को पुस १४ र १५ मा गर्ने भनिएको वार्षिक साधारणसभा स्थगित भएको छ। क्यानले साधारणसभा धनगढीमा गर्ने तय गरेको थियो।
साधारणसभाअघि चार वर्ष कार्यकाल पूरा भएका २० जिल्ला क्रिकेट संघको अधिवेशन गर्नु पर्ने भन्दै क्यानका ६ जना केन्द्रीय सदस्यले युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद्मा निवेदन दिएका थिए।
केन्द्रीय सदस्यहरू अमितवीर पाण्डे, ऋषिराम गौतम, करण महतरा, दाउद अन्सारी, सन्जय सिंह र छुम्बी लामाले बुधबार साधारणसभा अघि जिल्ला अधिवेशन गर्नु पर्ने भन्दै निवेदन दिएका थिए।
खेलकुद मन्त्री महेश्वर गहतराजले क्यानका अध्यक्ष चतुरबहादुर चन्दसहितका पदाधिकारीसँग बिहीबार छलफल गरेका थिए। त्यसपछि क्यानले साधारणसभा स्थगित गरेको हो।
'नेपाल क्रिकेट संघको यहि पौष १४ र १५ गते धनगढीमा हुने भनिएको वार्षिक साधारण सभा नेपाल क्रिकेट संघ मातहतका ३९ जिल्लाहरु मध्ये चार वर्षे कार्यकाल पूरा भएका केही जिल्लाहरूबाट जिल्ला अधिवेशन पश्चात् मात्र केन्द्रीय साधारण सभा गर्नको लागि अनुरोध प्राप्त भएको हुँदा नेपाल क्रिकेट संघले राष्ट्रिय खेलकुद परिषद् र आईसीसीसँग समेत समन्वय गरी नेपाल क्रिकेट संघको आगामी बोर्ड बैठकबाट नयाँ मिति तय गर्ने गरी हाललाई उक्त साधारण सभा स्थगित गरिएको ब्यहोरा सम्बन्धित सबैलाई जानकारी गराइन्छ,' क्यानले बिहीबार राति निकालेको विज्ञप्तिमा भनिएको छ।
खेलकुद मन्त्री गहतराजले बिहीबारको बैठकमा खेलाडीमाथि गरिएको कारबाहीको विषयमा पनि छलफल गरेका थिए। स्रोतका अनुसार मन्त्रीले खेलाडीमाथिको कारबाही फिर्ता लिन आग्रह गरेका थिए।
क्यानले गत साता ज्ञानेन्द्र मल्ललाई कप्तान र दीपेन्द्रसिंह ऐरीलाई उपकप्तानबाट हटाएको थियो।
खेलाडी वर्गीकरणमा सेतोपाटीमा आफ्ना असन्तुष्टि व्यक्त गरेका मल्ल र ऐरीसहित सोमपाल कामी र कमलसिंह ऐरीलाई सन् २०२२ को पहिलो६ महिना वर्गीकरणबाट प्राप्त हुने तलब पनि नदिने क्यानले निर्णय गरेको थियो।