एसिसी यू-१९ एसिया कपमा नेपाल पराजित भएको छ। शुक्रबार भएको आफ्नो पहिलो खेलमा नेपाललाई बंगलादेशले १५४ रनको फराकिलो अन्तरले पराजित गर्यो।
बंगलादेशले दिएको २९८ रनको लक्ष्य पछ्याएको नेपाल ४२.३ ओभरमा १४३ रनमा अलआउट भयो।
नेपालका लागि गुल्शन झाले सबैभन्दा बढी ३५ रन जोडे। विवेक मगरले ३३ रन र विवेक यादवले २६ रनको योगदान दिए।
कप्तान देव खनाल १२ रन र अर्जुन साउद १५ रनमा आउट भएका थिए।
बलिङमा बंगलादेशका हसन सकिब, रकिबुल हसन, एमएम मेहरुब र नैमूर रहमानले २-२ विकेट लिए।
त्यसअघि यूएईको शारजाहमा टस जितेर पहिले ब्याटिङ गरेको बंगलादेशले ४ विकेटको क्षतिमा २९७ रन जोड्यो।
बंगलादेशका लागि प्रन्तिक नविलले उत्कृष्ट ब्याटिङ गरे। शतक प्रहार गरेका उनले नटआउट १२७ रन जोडे। त्यसक्रममा उनले ११२ बल खेलेर ११ चौका १ छक्का हिर्काए।
यस्तै ओपनरद्वय महफिजुल इस्लाम १७ रन र इफ्ताखेर हुसेनले २१ रनको योगदान दिए। मोहमद फहिमले रिटायर्ड हर्ट हुनुअघि ५४ बलमा ५८ रन जोडे। मेहरुब हसन २१ रनमा आउट भए।
बलिङमा नेपालका गुल्शन झा, तिलकराज भण्डारी र मोहमद आदिलले १-१ विकेट लिए।
समूह 'बी' मा रहेको नेपालले दोस्रो खेल आगामी आइतबार श्रीलंकासँग खेल्नेछ।