धनगढीमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधिका लागि विभागीय टीम एपिएफ र प्रदेश १ भिड्ने भएका छन्।
शनिबार फाप्ला क्रिकेट मैदानमा भएको सेमिफाइनलमा जित हासिल गर्दै दुई टिमले फाइनलमा एकअर्कासँगको भेट पक्का गरेका हुन्।
पहिलो सेमिफाइनलमा प्रदेश १ ले सुदूपश्चिमलाई ९ विकेटले हरायो भने दोस्रो सेमिफाइनलमा एपिएफले लुम्बिनी प्रदेशलाई ३८ रनले पराजित गर्यो।
सुदूरपश्चिमले दिएको ८६ रनको लक्ष्य प्रदेश १ ले १६.५ ओभरमा एक विकेटको क्षतिमा विजय लक्ष्य पूरा गर्यो।
पहिलो विकेटका लागि ओपनरद्धय कप्तान रुविना क्षेत्री र काजल श्रेष्ठले ५३ रनको साझेदारी गर्दै सानदार जितको आधार खडा गरे। कप्तान रुविनाले अविजित ३१ रन बनाइन्। कविता जोशीको बलमा बोल्ड भएकी काजलले टिमका लागि २८ रन जोडिन्। अप्सरी बेगमले पनि अविजित ९ रन बनाइन्।
सुदूरपश्चिमले टस जितेर पहिले ब्याटिङ गर्दै २० ओभरमा ७ विकेट क्षतिमा ८५ रन बनायो। सुदूरपश्चिमका लागि सम्झना खड्काले सर्वाधिक २७ रन बनाइन्। कप्तान रितु कनौजियाले २५ रन जोडिन्। त्यस्तै डली भट्टले १२ रन बनाइन्। प्रदेश १ का लागि कप्तान रुविना क्षेत्री, अलिशा खाडिया, संगीता राई र ज्योती दनवारले समान एक विकेट लिए।
दोस्रो सेमिफाइनलमा टस जितेर पहिले ब्याटिङ गर्दै एपिएफले २० ओभरमा ३ विकेट क्षतिमा १२९ रन बनायो। एपिएफका लागि रोमा थापाले अविजित ४२ रनको पारी खेलिन्। त्यस्तै ममता चौधरीले २७ रन, सीता रानामगरले १८ रन, राजमति ऐरी १४ रन र ज्योती पाण्डेयले ११ रन थपिन्। लुम्बिनीका लागि मधु डिसी, नेरी थापा र कृतिका मरासैनीले समान १ विकेट लिईन् ।
१३० रनको विजय लक्ष्य पछ्याएको लुम्बिनी २० ओभरमा लुम्बिनीले ५ विकेट क्षतिमा ९१ रन मात्र जोड्न सक्यो। लुम्बिनीका लागि नेरी थापाले अविजित ३८ रन बनाइन्। नितु भण्डारीले १८ रन जोडिन्। एपिएफका लागि रेखा रावलले ३ विकेट लिइन्।
प्रतियोगिताको फाइनल आइतबार हुनेछ। प्रतियोगितामा प्रथम हुने टिमले ५ लाख, द्वितीयले ३ लाख, प्लेयर अफ द सिरिज २५ हजार, वेष्ट बलरले १५ हजार तथा बेस्ट ब्याटरले १५ हजार, प्लेयर अफ द म्याचले २ हजार पुरस्कार प्राप्त गर्ने छन्।