भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बिसिसिआई) र भारतीय टेस्ट टिमका कप्तान विराट कोहलीबीच तनाव भएको भन्ने खबर आइरहेको बेला भारत र दक्षिण अफ्रिकाबीच आइतबारदेखि तीन खेलको टेस्ट सिरिजअन्तर्गत पहिलो खेल सुरू हुँदैछ।
दक्षिण अफ्रिकाको सेञ्चुरियन पार्कमा सुरू हुने सिरिजअघि भारतीय टिमलाई ठूलो झड्का लागेको थियो। एकदिवसीय तथा टी-२० टिमका कप्तान रोहित शर्माले चोटका कारण सिरिज गुमाएका थिए। उनको स्थानमा प्रियांक पांचाललाई टिममा समावेश गरिएको छ।
यता सिरिजमा घरेलु टिम दक्षिण अफ्रिकाका तीव्र गतिका बलर एनरिक नोर्किया पनि उपलब्ध हुनेछैनन्। उनले पनि चोटका कारण सिरिज गुमाए।
पछिल्लो पटक भारतले विराट कोहलीको कप्तानीमा न्युजिल्यान्डविरूद्धको टेस्ट च्याम्पियनसिपको फाइनलमा हार बेहोरेको थियो। साथै कोहलीको प्रदर्शन पनि दमदार हुन सकिरहेको छैन।
कोहलीले पछिल्लो दुई वर्षदेखि शतक प्रहार गर्न सकेका छैनन्।
दक्षिण अफ्रिका जानुअघि विराट कोहलीले आफूलाई एक्कासी एकदिवसीय टिमबाट हटाएको भन्दै असन्तुष्टि व्यक्त गरेका थिए। उनले एकदिवसीय टिमको कप्तानीबाट हटाउँदा आफूसँग सल्लाह नगरेको भन्दै पत्रकार सम्मेलनमा असन्तुष्टि जनाएका थिए।
लगत्तै बिसिसिआईका अध्यक्ष सौरभ गांगुलीले कप्तानको विषयमा खेलाडीलाई नबोल्न चेतावनी दिएका थिए। गांगुलीले कप्तानको निर्णय गर्ने अधिकार बिसिसिलाई छाड्न समेत बताएका थिए।
विवादका बीच मैदान उत्रन लागेका कोहलीका लागि दक्षिण अफ्रिकाविरूद्धको सिरिज चुनौतीपूर्ण छ। किनभने दक्षिण अफ्रिकामा भारतको प्रदर्शन राम्रो छैन।
भारतले दक्षिण अफ्रिकामा अहिलेसम्म २० टेस्ट खेलेकोमा तीन खेलमा मात्र जित हात पारेको छ। १० खेलमा पराजित भारतले ७ बराबरी खेलेको छ।
यस्तै दक्षिण अफ्रिकामा खेलेका ७ टेस्ट सिरिज मध्ये भारत ६ टेस्टमा पराजित भएको छ भने एक खेल बराबरीमा सकिएको छ। सन् २०१०-११ मा खेलेको सिरिज १-१ को बराबरीमा सकिएको थियो।
पछिल्लो पटक भारत र दक्षिण अफ्रिकासँग २०१७-१८ मा खेलेको थियो। सो सिरिमा दक्षिण अफ्रिकाले २-१ ले सिरिज जितेको थियो।