प्रदेश १ लाई पराजित गर्दै सशस्त्र प्रहरी बलको एपिएफ क्लबले प्रधानमन्त्री कप महिला राष्ट्रिय प्रतियोगिताको उपाधि जितेको छ।
आइतबार धनगढीको फाप्ला मैदानमा भएको फाइनल भिडन्तमा एपिएफले प्रदेश १ लाई ७ विकेटले पराजित गर्दै उपाधि जितेको हो।
टस हारेर पहिले ब्याटिङ गरेको प्रदेश १ ले ६ विकेटको क्षतिमा ६७ रन मात्र जोड्न सक्यो।
प्रदेश १ का लागि कप्तान रुबिना क्षेत्रीले सबैभन्दा बढी ३४ रन जोडिन्। उनले ४६ बलमा ३ चौका हिर्काइन्।
बलिङमा एपिएफकी कप्तान सीता रानामगरले ३ विकेट लिइन्। यस्तै रेखा रावलले २ विकेट हात पारिन्।
६८ रनको लक्ष्य एपिएफले ३ विकेटको क्षतिमा १४.२ ओभरमा पूरा गर्यो।
उसका लागि ज्योती पाण्डेले नटआउट ३६ रन जोडिन्। उनले ३९ बलमा ६ चौका हिर्काइन्। ममता चौधरीले नटआउट १९ रन बटुलिन्।
बलिङमा प्रदेश १ की रुबिना क्षेत्रीले ३ विकेट लिइन्।
सीता रानामगर प्लेयर अफ दि फाइनल घोषित भइन्। रुबिनाले प्लेयर अफ दि सिरिजको ट्रफी प्राप्त गरिन्।