एसिसी यू-१९ एसिया कपमा नेपाल लगातार दोस्रो खेलमा पराजित भएको छ।
समूह 'बी' रहेको नेपाल आइतबार श्रीलंकासँग ६० रनले पराजित भएसँगै समूह चरणको अन्तिम खेलअघि नै बाहिरियो। समूहबाट दुई दुई जित हात पारेका बंगलादेश र श्रीलंका भने सेमिफाइलनमा पुगेका छन्।
आइतबार श्रीलंकाले दिएको ३२३ रनको लक्ष्य पछ्याएको नेपाल ४७.५ ओभरमा २६२ रनमा अलआउट भयो।
नेपालका लागि अर्जुन साउदले अर्धशतक प्रहार गरे। उनले रनटआउट हुनुअघि ६४ रन जोडे। उनले ८० बलमा ३ चौका र २ छक्का हिर्काए।
नेपालका ओपनरद्वय सन्तोष कार्की ३४ रन र देव खनाल २८ रन जोडेर आउट भएका छन्। बसन्त कार्की १ रन र विवेक रानामगर २ रनमा आउट भएका थिए।
बासिर अहमेदले ४३ रनको योगदान दिए भने विवेक यादव ४६ रनमा रनआउट भए।
गुल्शन झाले १३ रन जोडे भने मोहमद आदिल र शेर मल्ल ७-७ रनमा आउट भए।
बलिङमा रवीन डे सिल्भा र मथिसा पथिरानाले ३-३ विकेट लिए।
त्यसअघि युएईको शारजाहमा टस जितेर पहिले ब्याटिङ गरेको श्रीलंकाले ४ विकेटको क्षतिमा ३२२ रन जोड्यो।
श्रीलंकाका लागि दुई ब्याट्सम्यानले शतक प्रहार गरे।
ओपनर चामिदु विक्रमासिंघले १११ रनको योगदान दिए। उनले १२६ बलमा ८ चौका र २ छक्का प्रहार गरे।
यस्तै सदिशा राजापाक्षले पनि शतक हिर्काए। उनले १३१ रन जोडे। ११९ बल खेलेका उनले ११ चौका र २ छक्का हिर्काए।
बलिङमा नेपालका मोहमद आदिलले २ विकेट लिए। कप्तान देव खनाल र विवेक यादवले १-१ विकेट लिए।
यसअघि नेपालले पहिलो खेलमा बंगलादेशसँग १५४ रनको फराकिलो अन्तरको हार बेहोरेको थियो।
समूह ‘बी’ रहेको नेपालले अन्तिम खेलमा मंगलबार कुवेतसँग खेल्नेछ।