उपकप्तान तथा ओपनर केएल राहुलको शतकमा भारतले दक्षिण अफ्रिकाविरूद्धको पहिलो टेस्टमा उत्कृष्ट ब्याटिङ गरेको छ।
सुपर स्पोर्ट्स पार्कमा पहिलो टेस्टको पहिलो दिन टस जितेर पहिले ब्याटिङ गरेको भारतले ९० ओभरमा ३ विकेट गुमाउँदै २७२ रन बनायो।
भारतका लागि ओपनर राहुल १ सय २२ रन बनाएर अविजित छन्। टेस्ट करिअरको सातौं शतक प्रहार गर्ने क्रममा राहुलले २ सय ४८ बलमा १६ चौका र १ छक्का प्रहार गरिसकेका छन्।
यस्तै अजिक्या रहाणे ४० रनमा अविजित छन्। चौथो विकेटको लागि राहुल र रहाणेबीच ७३ रनको साझेदारी भईसकेको छ ।
यसअघि भारतका ओपनर मयंक अग्रवाल र लोकेश राहुलले पहिलो विकेटका लागि १ सय १७ रनको शतकीय साझेदारी गरेका थिए।
अग्रवाल ६० रनमा एलबीडब्लू आउट भए। त्यसअघि उनले १ सय २३ बलमा ९ चौका प्रहार गरे । लगत्तै अर्को बलमा चेतेश्वर पुजारा गोल्डेन डक आउट भए ।
कप्तान विराट कोहलीलाई एनगिडीले ३५ रनमा वियान मुल्डरबाट क्याच गराए । कोहलीले ९४ बलमा ४ चौका प्रहार गरे । दक्षिण अफ्रिका लुन्गी एनगिडीले एक्लै तीन विकेट लिए।