नेपाली क्रिकेट टिमका मुख्य प्रशिक्षक पुबुदु दासानायके नेपाल आइपुगेका छन्।
यसअघि पनि नेपाली टिमलाई प्रशिक्षण गराएका मुख्य प्रशिक्षक पुबुदु आज नेपाल आइपुगेका हुन्। विमानस्थलमा पुबुदुलाई क्यानका क्रिकेट म्यानेजर विनोद दासले स्वागत गरे।
क्यानको मंसिर २५ गतेको बोर्ड बैठकले मुख्य प्रशिक्षकको रुपमा पुबुदुलाई अनुमोदन गरेपछि पुबुदुले पुनः नेपाल टोली सम्हाल्ने जिम्मेवारी पाएका थिए।
मंगलबार विमानस्थल ओर्लिपछि सञ्चारकर्मीसँग बोल्दै प्रशिक्षक पुबुदुले पुनः नेपाली टोलीको जिम्मेवारी पाएकोमा खुसी ब्यक्त गरे। साथै नेपालको चुनौती सामना गर्न आफू तयार भएको पनि बताए।
पहिले नेपाली टोली सम्हाल्दा र अहिले टोली सम्हाल्दा फरक भएको भन्दै प्रशिक्षक दासानायकेले नेपाली क्रिकेट नयाँ उचाईमा पुर्याउने जिम्मेवार थपिएको बताए।
प्रशिक्षक पुबुदुले हाल नेपाली टोलीमा खेलाडी र क्यानबीचको जस्तो समस्या संसारका सबै जसो देशमा हुने गरेको र नेपालको समस्या समान्य भएको भन्दै बन्द कोठाभित्र रहेर छलफल गरेको खण्डमा समाधान हुने विश्वास व्यक्त गरे। प्रशिक्षक दासानायकेले क्रिकेट अगाडि बढाउनका लागि खेलाडी र क्यानले सहयोग गर्ने विश्वास ब्यक्त गरे।
प्रशिक्षक दासानायकेले यस अघि सन २०११ देखि २०१५ सम्म नेपाली टिम सम्हालिसेका छन्। उनकै प्रशिक्षणमा नेपालले पहिलो पटक सन २०१४ मा आईसीसी टी–२० विश्वकप खेलेको थियो।
पूर्वमुख्य प्रशिक्षक डेव ह्वाटमोरले ओमान भ्रमणको क्रममा उतैबाट राजीनामा दिएपछि नेपाली टिम मुख्य प्रशिक्षकविहिन रहेको थियो। त्यसपछि क्यानले खुल्ला प्रतिस्पर्धाबाट पुबुदुलाई प्रशिक्षकको रुपमा नियुक्त गरेको हो।