एसिसी यू-१९ एसिया कपमा नेपाल समूह चरणका तीन खेलमा नै पराजित भएको छ। मंगलबार भएको आफ्नो अन्तिम खेलमा नेपालले कुवेतसँग १ विकेटको हार बेहोर्यो।
नेपालले दिएको २४० रनको लक्ष्य कुवेतले ७ बल खेल्न बाँकी छदा ९ विकेटको क्षतिमा पूरा गरेको थियो।
कुवेतको जितमा ओपनर तथा कप्तान मीत भावसरले उत्कृष्ट ब्याटिङ गरे। उनले नटआउट १७५ रन जोडे। अन्य ब्याट्सम्यानले उल्लेख्य रन जोड्न नसके पनि कुवेतलाई फरक परेन।
बलिङमा नेपालका गुल्शन झाले ३ विकेट लिए भने शेर मल्ल र बासिर अहमेदले २-२ विकेट लिए।
त्यसअघि दुबईमा टस जितेको कुवेतले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको नेपाल ४२.३ ओभरमा २३९ रनमा अलआउट भयो।
नेपालका लागि दुई ब्याट्सम्यानले अर्धशतक प्रहार गरे। विवेक रानामगरले ५० रन जोडे भने बासिर अहमेदले ५६ रनको योगदान दिए। विवेकले ७१ बलमा ६ चौका हिर्काउँदा बासिरले ६१ बलमा ७ चौका र १ छक्का प्रहार गरे।
मोहमद आदिल भने एक रनले अर्धशतक बनाउन चुके। ४९ रनमा आउट हुनुअघि उनले ४२ बलमा २ चौका ५ छक्का हिर्काए। शेर मल्लले २१ रनको योगदान दिए।
ओपनरद्वय सन्तोष कार्की र देव खनाल ५-५ रनमा आउट भए। अर्जुन साउद १० रन, विवेक यादव ०, गुल्शन झा ७ रनमा आउट भए भने दिपेश कडेँलले १५ रनको योगदान दिए।
बलिङमा कुवेतका मिर्जा अहमेद र अब्दुल सदिकले ३-३ विकेट लिए।
दुवै टिम यसअघि नै समूह चरणबाट बाहिरिसकेका थिए। दुवैलाई श्रीलंका र बंगलादेशले हराएका थिए।