उनका बुवा आफ्ना साथीसँग खेल खेल्थे। सुर्खेत लाटीकोइलीकी अंशु शाक्य पनि खेल्न चाहन्थिन्। तर आफ्ना साथी खेल्न मान्दैनथे।
सानैदेखि खेलमैदानमा छोरीमान्छेहरू कम देख्दै आए पनि उनले भने खेल नखेली नछोड्ने निधो गरिन्।
तीन वर्षअघि उनी कक्षा ११ मा पुगेपछि क्रिकेट खेल्न थालेकी हुन्।
अहिले कर्णाली प्रदेश महिला क्रिकेट टोलीकी उपकप्तान भएकी छन्।
सुदूरपश्चिमको फाप्ला क्रिकेट मैदानमा केही दिनअघि भेटिएकी अंशुले सेतोपाटीसँग भनिन्, ‘कर्णालीको महिला टिम थिएन, पुरूष टिमका दाइहरूले आफ्ना सामानहरू दिएर खेल्न सहयोग गर्नुभयो।’
उनी पुस ११ गते धनगढीको फाप्लामा सम्पन्न प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगितामा भाग लिन यस वर्ष पनि धनगढी आइन्।
तीन वर्षअघि क्रिकेट सुरू गरेकी अंशु र उनका खेलाडी साथीका दु:ख कम छैनन्। टिम पुर्याउनै हम्मे हम्मे हुन्छ। अंशु आफैं क्रिकेट खेल्न थालेको धेरै समय भएको छैन।
२०७५ सालमा सुदूरपश्चिम प्रदेश सरकारले आयोजना गरेको मुख्यमन्त्री कप खेल्न कर्णालीले महिला टोली बनाउनुपर्ने थियो।
अंशुको प्रि–बोर्ड परीक्षा चलिरहेको थियो। क्रिकेट सिक्न थालेको पनि दुई दिन मात्रै भएको थियो।
उनले पनि प्रदेशको प्रतिनिधित्व गर्दै खेल्नुपर्ने भएपछि परीक्षा छोडेर उनी सुदूरपश्चिम आएकी थिइन्।
‘त्यो बेला हाम्रो टीममा फिक्स ब्याटर, बलर नै थिएनन्, हामीले राम्रो खेल्न सकेनौं,’ उनले भनिन्।
अरू टोलीका खेलाडीले त उनीहरूलाई खेल्न नआउने कुरा थाहा पाइहाले। अरू टिमले ‘फुच्चीहरूलाई थाहै छैन’ भन्ने गरेको उनले सुनिन्। त्यतिखेर उनको मन दुखेको थियो।
‘प्रिजेन्टेसनमै पनि अभ्यास र नलेज छैन भनेका थिए,’ उनले सम्झिइन्। उनलाई यसबेला एकप्रकारको हिनताबोध भएको थियो। तर उनी लाज मानेर बसिनन्। त्यसलाई उनले आत्मबलमा बदलिन्।
‘मलाई त्यहीँ कुरा पटकपटक सुनेपछि जसरी पनि राम्रो खेल्नुपर्छ, अर्को चोटी राम्रो गर्छु भन्ने लागेको थियो,’ उनले भनिन्।
त्योबेला ब्याटरको भूमिकामा रहेकी उनी पहिलो खेलमा शून्यमै आउट हुनुपरे पनि दोस्रो खेलमा भने १४ रन बनाइन्।
त्यो साल उनको टीमका ब्याटरले बनाएकोमध्ये सर्वाधिक रन त्यहीँ थियो।
त्यसपछि उनले २०७६ को प्रधानमन्त्री कप पनि खेल्न पाइन्। २०७५ मा खेलाडी खोजेर बनेको टीमका धेरैले छोडिसकेका थिए।
परिवारलाई सम्झाउँदै खेल्न आएका छोरीहरूले खेलमा भविष्य नदेखेरै छोड्नुपरेको होला जस्तो उनलाई लाग्छ।
प्रधानमन्त्री कपमा प्रतियोगितामा पनि कर्णालीका महिला क्रिकेटरले राम्रो गर्न सकेनन्। तर खेलभने सुधार भएको थियो।
२०७७ मा दाङमा भएको प्रधानमन्त्री कप खेल्न जाँदा पनि टोलीमा धेरैजना नयाँ खेलाडी थपिए। निरन्तरता दिने वातावरण नभएर पुराना केही खेलाडीले टीम छोडेका थिए।
‘टिम नपुगेर अन्य ठाउँबाट खेल्न चाहनेहरूलाई कर्णालीको टिममा ल्याउनुपरेको थियो,’ उनले भनिन्।
यस वर्ष पुस ११ गते धनगढीको फाप्लामा सम्पन्न भएको प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगितामा कर्णाली प्रदेशले तीन खेल खेल्यो।
पहिलो खेल कर्णालीले प्रदेश नम्बर १ सित १६० रनले हार व्यहोर्नु परेको थियो भने ६ रनमा अलआउट हुन पुग्यो।
कर्णालीका लागि कप्तान आयुषा टण्डनले बनाएको ३ रन नै सर्वाधिक रन बन्यो।
टोलीका लागि लक्ष्मी रिजाल र अंशु शाक्यले एक/एक रन बनाएका थिए। कर्णालीका लागि दिव्या धामीले २ विकेट लिएकी थिइन्।
‘कर्णाली ६ रनमै आउट भनेर समाचार आउँदा पनि नरमाइलो लाग्यो,’ अंशुले भनिन्।
दोस्रो खेलमा लुम्बिनीले कर्णाली प्रदेशलाई १० विकेटले हराएको थियो। टस जितेर पहिले ब्याटिङ गर्दै कर्णाली प्रदेशले ६ ओभरमा खेलाईएको खेलमा १७ रन बनायो। हुस्सु र सितलहरका कारण खेल खेल्न सजिलो पनि थिएन।
कर्णालीले निर्धारित ६ ओभरमा ३ विकेट क्षति गरेपनि १७ रन बनायो। कर्णालीका लागि कप्तान आयुशा टण्डनले ७ रन र दिक्षा पुरीले अविजित ७ रन बनाएका थिए।
यस प्रतियोगिताको तेस्रो तथा अन्तिम खेलमा वागमती प्रदेशले कर्णाली प्रदेशलाई ७९ रनले हराएको थियो। १३१ रनको विजय लक्ष्य पाएको कर्णालीले १८ दशमलव ३ ओभरमा ५१ रन मात्र बनाउन सक्यो।
त्यो दिन कर्णाली प्रदेशका लागि दिव्या धामीले ३, एन्जिला क्षेत्रीले २ र निशा पराजुलीले एक विकेट लिएकी थिइन्।
यस प्रतियोगितामा पनि कर्णालीले खेल विगतभन्दा थप सुधार गरेको अंशुको बुझाई छ। उनीहरूले दिनहुँ अभ्यास गर्न पाउँदैनन्। खेल्ने बेला मान्छे जुटाउनुपर्छ। परिवार र समाजलाई सम्झाइ बुझाइ गरेर बल्ल बल्ल खेल्न तयार भएकाहरूका लागि मैदान छैन। खेल्न चाहिने सामाग्री छैनन्। खेलका लागि चाहिने सजिला ड्रेस किन्न समस्या छ।
अंशुकै वडामा पनि क्रिकेट अभ्यास गर्ने मैदान छैन।
उनी क्रिकेटर रवीन्द्रजंग शाहीले चलाएको एकेडेमीको नेटमा अभ्यास गर्न जाने गर्छिन्।
‘हाम्रो वडामा त के नगरमै क्रिकेट मैदान छैन, विरेन्द्रनगर नगरपालिकाले कहिल्यै क्रिकेट प्रतियोगिता आयोजना गरेको पनि छैन, ’ उनले भनिन्।
मैदान नभएकाले धेरैले चाहेर पनि क्रिकेट खेल्न पाएका छैनन्। कालिन्चोक चौरलाई क्रिकेट ग्राउण्डको नाम दिइए पनि त्यहाँ खेल्ने वातावरण नभएको उनी बताउँछिन्।
‘त्यहीँ मैदानमा मोटरसाइकल सिकिरहेका हुन्छन्, फुटबल खेलेका हुन्छन्, आर्म पुलिस बन्न चाहनेहरू दौडिन, अभ्यस गर्न त्यहीँ आउँछन्, गाईभैंसी चरेका हुन्छन्, क्रिकेट त्यसैमा खेल्नुपर्छ,’ उनले भनिन्।
यसमा केही समयअघि पिच बनाइए पनि अहिले त्यो नचिनिने भएको छ।
कर्णालीमा मैदान नभएर क्रिकेट प्रतियोगिताहरू हुँदैनन्।
सुदूरपश्चिममा स्कुलस्तरमा हुने प्रतियोगिता, स्थानीय सरकारले गर्ने प्रतियोगिता, प्रदेश र केन्द्र सरकारले गर्ने ठूला प्रतियोगिताहरू पनि भएको देख्न उनलाई कर्णालीमा किन चासो नदिएको होला भन्ने लाग्छ।
कर्णालीले अहिलेसम्म विजेता वा उपविजेता हुन सकेको छैन। यसको कारण खेल नै नहुनु, अभ्यास गर्नु मैदान नहुनु र नियमित कोच उपलब्ध नहुनु पनि हो।
‘ग्राउण्डको समस्या छ, म्याच नखेलेरै सिधै राष्ट्रिय स्तरका प्रतियोगिता खेल्नु पर्दा राम्रो प्रदर्शन गर्न सकिएको छैन,’ उनले भनिन्।
यस बर्ष नेपाल क्रिकेट संघले कर्णालीको टीमलाई क्याम्पको व्यवस्था मिलाएपछि उनीहरूले धेरै कुरा सिक्न पाएका थिए।
‘कर्णाली प्रदेशबाटै राष्ट्रिय टोलीमा गयो भन्ने होस्,’ उनले भनिन्।
धनगढीमा भएको पिएम कपमा यस वर्ष पनि कर्णालीले महिला टोली बनाउन केही खेलाडी अन्य प्रदेशबाट लिनुपरेको थियो। कर्णाली प्रदेशबाटै टोलीमा पर्ने जम्मा ८ जना मात्रै थिए।
दुई वर्षअघि अंशुसँगै क्रिकेट खेल्ने उनका केही साथीहरू जागिरे भएका छन्, केही अध्ययन गरिरहेका छन्। कसैको घरजम भएको उनले बताइन्। उनले पनि विहान कलेज, दिउँसो एकेडेमीमा अभ्यास र बेलुका घरको काममा सहयोग गर्नुपर्छ।
‘मसँगै आफ्नै क्रिकेट किट छैन, एकेडेमीले दिएका सामानले खेल्छौं, फेरि फिर्ता गरिदिन्छौं,’ उनले भनिन्।
उनलाई क्रिकेटमै राम्रो गर्न मन छ तर उनकी आमाले भने खेलमा भन्दा पढाइ गर्न भनिरहन्छिन्। जबकी उनलाई कलेजले भने खेल्न कै लागि विदा दिएको छ। उनलाई सहज भएको छ।
केही महिना अघि मात्रै कर्णालीको महिला क्रिकेट टोलीको प्रशिक्षकका रूपमा क्यानले कञ्चनपुरका विरेन्द्र शाहीलाई जिम्मा दिएको छ। न्यून पारिश्रमिकमा सुदूरपश्चिमबाट कर्णाली प्रदेशमा डेरा गरी बसेर प्रशिक्षण गर्न उनलाई पनि समस्या छ।
उनले अहिले कर्णालीका ४ जिल्लामा क्यानले मान्यता दिए पनि खेल गतिविधि सुर्खेतमै केन्द्रीत भइरहेको बताए।
‘ग्राउण्ड, स्थानीय कोच र रेगुलर प्रतियोगिताहरू भइरहे क्रिकेटप्रतिको क्रेज थप बढ्छ, खेलाडी उत्पादन हुन्छ,’ प्रशिक्षक शाहीले भने।
पछिल्लो तीन वर्षयता कर्णाली प्रदेशले महिला क्रिकेट टोलीमा ५ जना बलर पाएको छ। ब्याटिङ नचलेर हार व्यहोर्नु परे पनि अर्कै प्रतियोगितामा राम्रो गर्ने विश्वास प्रशिक्षकको छ।