नेपाली राष्ट्रिय क्रिकेट टिमका प्रमुख प्रशिक्षक पुबुदु दसानायकेले कप्तान परिवर्तन गर्ने क्रिकेट एसोसिएसन नेपाल (क्यान) को निर्णय यथावत् रहने बताएका छन्।
बिहीबार पत्रकारहरूसँगको अन्तर्क्रिया कार्यक्रममा बोल्दै दसानायकेले कप्तान छान्ने अधिकार क्यानलाई भएकाले त्यसमा आफूले केही भन्न नसक्ने बताए।
‘संसारभरि नै टिमको कप्तान छान्ने अधिकार बोर्डलाई हुन्छ। बोर्डले गरेको निर्णयमा म केही भन्न सक्दिनँ,’ दसानायकेले भने,‘वर्गीकरणलगायत खेलाडीका अरू मागका विषयमा भने समाधानका लागि पहल गर्छु।’
उनले भोलिसम्म ३० जना खेलाडीलाई बन्द प्रशिक्षणका लागि बोलाउने बताए।
नेपालले आउने फेब्रुअरीमा टी-२० विश्वकप छनोट खेल्दैछ। त्यसैको तयारीका लागि खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाउन लागिएको हो।
ज्ञानेन्द्र मल्ललाई हटाएर क्यानले सन्दीप लामिछानेलाई नयाँ कप्तान बनाएको थियो।
मल्ल कप्तान नभए सबै खेलाडी बन्द प्रशिक्षणमा आउँछन् त भन्ने प्रश्नमा उनले भने- आउनु पर्छ। मलाई लाग्छ सबै खेलाडी आउँछन्।