भारतले दक्षिण अफ्रिका विरूद्धको पहिलो टेष्ट ११३ रनले जितेको छ। यसअघि सेन्चुरियनको मैदानमा दक्षिण अफ्रिकालाई टेष्टमा कुनै पनि एसियाको टोलीले हराउन नसकेको अवस्थामा भारतले पहिलो पटक घरेलु टोलीलाई हराएको हो।
यो जितसँगै भारतले तीन खेलको सिरिजमा १-० को अग्रता बनाएको छ।
भारतले दिएको ३०५ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले दोस्रो पारीमा १९१ रनमा अलआउट भयो। दक्षिण अफ्रिका पाँचौं दिनको खेल सुरू गर्दा ९४/४ को अवस्थामा थियो। थप ९७ रन बनाउँदा सबै विकेट गुमायो।
उसका लागि कप्तान डिन एल्गरले ७७, तेम्बा बावुमाले अविजित ३५, क्विन्टन डिककले २१, कीगन पीटरसनले १७, मार्को जेन्सनले १३ र रस्सीभानदर दुसेनले ११ रन बनाए। बाँकी ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।
दक्षिण अफ्रिसकालाई सस्तैमा रोक्न भारतका जसप्रीत बुमराह, मोहम्मद शामीले समान ३-३ तथा रविचन्द्रन आश्विन र मोहम्मद सिराजले दुई-दुई विकेट लिए ।
यसअघि दक्षिण अफ्रिकाले पहिलो पारीमा १९७ रन बनाएको थियो।
उक्त पारीमा तेम्बा बावुमाले सर्वाधिक ५२ रन बनाएका थिए। यस्तै क्विन्टन डिककले ३४ तथा कागिशो रबाडाले २५ रन बनाएका थिए।
बलिङमा भारतका लागि मोहम्मद शामीले सर्वाधिक ५ विकेट लिए। यस्तै जसप्रित बुमराह र सार्दूल ठाकुरले २-२ विकेट हात पारे।
त्यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको भारतले पहिलो इनिङ्समा ३२७ रन बनाएको थियो।
उसका लागि केएल राहुलले सर्वाधिक १२३ रन बनाए। उनले २६० बलमा १७ चौका र एक छक्का प्रहार गरेका थिए। त्यस्तै, मयंक अग्रवालले ६०, अजिंक्य रहाणेले ४८, कप्तान विराट कोहलीले ३५ र जसप्रीत बुमराहले १४ रन जोडेका थिए।
बाँकी ब्याटरले भने दोहोरो अंकमा समेत रन जोड्न सकेनन् ।
बलिङमा अफ्रिकाका लागि लुंगी एनगिडीले ६, कागिसो रबाडाले तीन र मार्को जेन्सनले एक विकेट लिए।
भारत दोस्रो पारीमा भने १७४ रनमै समेटियो। उसका लागि यो पारीमा ऋषभ पन्तले सर्वाधिक ३४ रन बनाए। केएल राहुलले २३ तथा कप्तान कोहलीले १८ रन मात्र जोडे।
अफ्रिकाको बलिङमा मार्को जेन्सन र कागिसो रबाडाले सर्वाधिक चार-चार विकेट लिए।
भारत र दक्षिण अफ्रिकाबीचको दोस्रो टेष्ट सोमबारदेखि सुरू हुनेछ।