नेपाल क्रिकेट संघ (क्यान) र असन्तुष्ट रहेका खेलाडीको तर्फबाट ज्ञानेन्द्र मल्लबीच छलफल भएको छ।
क्यानका अध्यक्ष चतुरबहादुर चन्द, कार्यवहाक सचिव प्रशान्तविक्रम मल्ल, कोषाध्यक्ष रोशन सिंह र प्रशिक्षक पुबुदु दासानायकेसँग ज्ञानेन्द्रले आइतबार दुई चरणमा छलफल गरेका थिए।
विहान अध्यक्ष चन्दसँग एक्लै छलफल भएको थियो भने दिउँस समूहमा छलफल भएको थियो।
आइतबार भएको छलफलमा ज्ञानेन्द्रले वर्गीकरणको विषयमा बोलेकै आधारमा कारबाही गरेको भन्दै फिर्ता लिन माग गरेका थिए।
क्यानले आइतबारदेखि सुरू गर्ने गरी टी-२० विश्वकप छनोटको तयारीका लागि बन्द प्रशिक्षण बोलाए पनि खेलाडीहरूले विरोध जनाउँदै होटल गाएका थिएनन्।
कारबाहीमा परेका ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी, कमलसिंह ऐरीसहित ११ खेलाडी होटल नपुगेपछि क्यानले ज्ञानेन्द्रसँग वार्ता गरेको हो।
खेलाडीको वर्गीकरणमा असन्तुष्टि जनाएकै कारण चार क्रिकेट क्यानले ६ महिना तलब नदिने निर्णय गरेको थियो। यस्तै ज्ञानेन्द्रलाई कप्तान र दीपेन्द्रलाई उपकप्तानबाट हटाएको थियो भने सन्दीप लामिछानेलाई कप्तान बनाउने निर्णय गरेको थियो।
क्यानका कार्यवहाक सचिव प्रशन्तविक्रम मल्लले ज्ञानेन्द्रसँग छलफल भएको पुष्टि गरे।
ज्ञानेन्द्रलाई ‘सम्झाएको’ बताउँदै प्रशिक्षणमा फर्कन आग्रह गरेको उनको भनाइ छ। जसमा ज्ञानेन्द्रले ‘साथीहरूसँग छलफल गरेर निर्णय लिने’ जवाफ दिएका थिए।
यस्तै खेलाडीलाई ६ महिनाको तलब नदिने निर्यणमा लचिलो हुने पनि कार्यवहाक सचिवले बताए। तर उनले कप्तान भने सन्दीप नै हुने उनको भनाइ छ।
‘६ महिनाको तलब नदिने कुरामा लचिलो हुन्छौं। कप्तानको विषयमा चार जनालाई कहिले पनि अयोग्य भनेका छैनौ। प्रदर्शन र टिमको आवश्यकता अनुसार चारै जना भविष्यको कप्तानका लागि योग्य हुनुहुन्छ,’ उनले ज्ञानेन्द्र मल्लसँग भएको कुराकानी उधृत गर्दै भने, ‘कप्तान परिवर्तन भइरहने कुरा हो। विनोद दासलाई कप्तानी दिँदा राजु खड्कालाई सोधिएन। पारस खड्कालाई दिँदा विनोद दासलाई सोधिएन। यो नियमित प्रक्रिया हो।’
वार्तापछि असन्तुष्ट खेलाडीबीच अहिले छलफल भइरहेको छ। छलफलपछि खेलाडीहरूले प्रशिक्षणमा जाने वा नजाने निर्णय लिनेछन्।
फेब्रुअरीमा हुने आइसीसी टी-२० विश्वकप छनोटका लागि खेलाडीहरूलाई बन्द प्रशिक्षणमा डाकिएको हो।
बन्द प्रशिक्षणमा बोलाइएका ३० खेलाडी
सन्दीप लामिछाने, दीपेन्द्रसिंह ऐरी, शरद भेसवाकर, करण केसी, सोमपाल कामी, मोहम्मद आरिफ शेख, विनोद भण्डारी, कुशल मल्ल, कुशल भुर्तेल, मोहम्मद आसिफ शेख, कमलसिंह ऐरी, सहाब आलम, सन्दीप जोरा, अविनाश बोहरा, सुसन भारी, पवन सराफ, विक्रम सोब, भीम सार्की, रोहितकुमार पौडेल, प्रदीप ऐरी, गुल्सानकुमार झा, नन्दन यादव, जितेन्द्रकुमार मुखिया, विवेककुमार यादव, सौरभकुमार खनाल, राजेश पुलामीमगर, किशोर महतो, सागर ढकाल, हरिशंकर साह