नेपाल क्रिकेट संघ (क्यान) ले बोलाएको बन्द प्रशिक्षणमा सहभागी हुन ज्ञानेन्द्र मल्लसहितका खेलाडी होटल पुगेका छन्।
खेलाडी वर्गीकरणको विषयमा भएको विवादका कारण असन्तुष्ट क्रिकेटर र क्यानबीच छलफल भएको भोलिपल्ट ज्ञानेन्द्रसहितका खेलाडी होटल पुगेका हुन्। तीव्र गतिका बलरद्वय सोमपाल कामी र करण केसी पनि आजै होटल पुग्ने बताइएको छ।
यसअघि क्यानले आइतबारदेखि बन्द प्रशिक्षण सुरू गर्ने निर्णय गरेकोमा ११ खेलाडीले बहिष्कार गरेका थिए।
आइतबार सुरु हुन नसकेको बन्द प्रशिक्षण सोमबार देखि सुरु भएको थियो। पहिलो दिन त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा १४ जना खेलाडी उपस्थित भएका थिए।
आइतबार २० जना खेलाडीले क्यानलाई रिपोर्टिङ गरेकोमा सोमबार बेलुकासम्म थप ९ जना खेलाडीले क्यानलाई रिपोर्टिङ गरेका छन्।
क्यानले बन्द प्रशिक्षणमा सहभागी हुन ३० सदस्यीय प्रारम्भिक टिमको घोषणा गरेको थियो। यसअघि खेलाडी कारवाहीको बिरोधमा बन्द प्रशिक्षणमा अधिकांश खेलाडी गएका थिएनन्।
कप्तान सन्दीप लामिछाने हाल बिग ब्यास लिग खेल्न अस्ट्रेलियामा छन् र जनवरी अन्तिम साता मात्र नेपाल आइपुग्नेछन्।
आइतबार क्यान र असन्तुष्ट रहेका खेलाडीको तर्फबाट ज्ञानेन्द्र मल्लबीच छलफल भएको थियो।
ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी, कमलसिंह ऐरीसहित ११ खेलाडी होटल नपुगेपछि क्यानले ज्ञानेन्द्रसँग वार्ता गरेको थियो।
खेलाडीको वर्गीकरणमा असन्तुष्टि जनाएकै कारण चार क्रिकेट क्यानले ६ महिना तलब नदिने निर्णय गरेको थियो। यस्तै ज्ञानेन्द्रलाई कप्तान र दीपेन्द्रलाई उपकप्तानबाट हटाएको थियो भने सन्दीप लामिछानेलाई कप्तान बनाउने निर्णय गरेको थियो।
क्यानले कप्तान परिवर्तन बाहेक अन्य कारबाही फिर्ता लिने भएपछि खेलाडीहरू प्रशिक्षणमा फर्कन तयार भएका थिए।
फेब्रुअरीमा हुने आइसीसी टी-२० विश्वकप छनोटका लागि खेलाडीहरूलाई बन्द प्रशिक्षणमा डाकिएको हो।
बन्द प्रशिक्षणमा बोलाइएका ३० खेलाडी
सन्दीप लामिछाने, दीपेन्द्रसिंह ऐरी, शरद भेसवाकर, करण केसी, सोमपाल कामी, मोहम्मद आरिफ शेख, विनोद भण्डारी, कुशल मल्ल, कुशल भुर्तेल, मोहम्मद आसिफ शेख, कमलसिंह ऐरी, सहाब आलम, सन्दीप जोरा, अविनाश बोहरा, सुसन भारी, पवन सराफ, विक्रम सोब, भीम सार्की, रोहितकुमार पौडेल, प्रदीप ऐरी, गुल्सानकुमार झा, नन्दन यादव, जितेन्द्रकुमार मुखिया, विवेककुमार यादव, सौरभकुमार खनाल, राजेश पुलामीमगर, किशोर महतो, सागर ढकाल, हरिशंकर साह