पाकिस्तानका भेट्रान अलराउन्डर मोहम्मद हाफिजले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन्। सोमबार एक कार्यक्रमकाबीच हाफिजले आफ्नो १८ वर्षे लामो अन्तर्राष्ट्रिय क्रिकेट करियरलाई टुङ्ग्याउने निर्णय गरेका हुन्।
सन् २००३ मा जिम्बाबेविरुद्धको एकदिवसीय क्रिकेटबाट अन्तर्राष्ट्रिय क्रिकेटमा ‘डेब्यु’ गरेका हाफिजले सन् २०२० को ट्वान्टी २० विश्वकपपछि सन्यास लिने घोषणा गरेका थिए।
हाफिजले पाकिस्तानबाट १ सय १९ ट्वान्टी २०मा दुई हजार पाँच सय १४ रन र ६१ विकेट लिएका छन्। दुई सय १८ एकदिवसीयमा ६ हजार ६ सय १४ रन र एक सय ३९ विकेट लिएका उनले ५५ टेस्ट खेल खेलेका छन्। हाफिजले टेस्टमा तीन हजार ६ सय ५२ रन र ५३ विकेट लिएका छन्।
सन् २०१८ मा टेस्ट क्रिकेटबाट सन्यास लिएका हाफिजले सन् २०१९ मा सम्पन्न एकदिवसीय विश्वकपमा अन्तिम एकदिवसीय खेल खेलेका थिए।
हाफिज सन् २०२० मा ट्वान्टी २० क्रिकेटमा पाकिस्तानबाट सर्वाधिक रन बनाउने खेलाडी समेत बनेका थिए।