क्रिकेट खेलाडी र नेपाल क्रिकेट संघ (क्यान) को विवाद मिलेसँगै फेब्रअरीमा ओमानमा हुने टी–२० विश्वकप छनोट खेलका लागि मंगलबारबाट सबै खेलाडी बन्द प्रशिक्षणमा उपस्थित भएका छन्।
मंगलबारको प्रशिक्षणमा नेपाली राष्ट्रिय टीमका पूर्वकप्तान ज्ञानेन्द्र मल्लसहित अन्य खेलाडीले पनि प्रशिक्षण स्थलमा सहभागिता जनाए।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा अन्य खेलाडीसँगै अभ्यास गरिरहेका पूर्वकप्तान ज्ञानेन्द्र मल्लले सबै विवाद बिर्सिएर अब विश्वकप छनोटमा ध्यान केन्द्रीत गर्ने बताए। वर्गीकरणको विषय पछि सतहमा देखिएको खेलाडी र क्यानबीचको समस्या समाधान भएको उनले बताए।
मंगलबार मैदानमा सञ्चारकर्मीसँग बोल्दै नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य ज्ञानेन्द्र मल्लले आफू सधैंभरि कप्तान बन्नका लागि नआएको बताए।
बोर्ड र खेलाडीसँग पहिले नै यसरी छलफल भएको भए यो विवाद यस्तो अवस्था नआउने भन्दै मल्लले बिनाजानकारी कप्तानबाट हटाउँदा दुःख लागे पनि सधैं कप्तान बन्नुपर्छ भन्ने अडानमा नरहेको बताए।
मल्लले आत्मसम्मानका हिसाबले अलि अप्ठेरो महसुस भएको भन्दै देश, आफ्नो र परिवारका लागि खेल्ने बताए।
यस्तै मल्लले क्यानसँग खेलाडीहरूको प्रोत्साहन भत्ता बढाउने र ४ जना खेलाडीलाई गरिएको कारबाही फिर्ताको विषयमा पनि सहमति भएको बताए।
उनले इगो बाहिर राखेर नेपाली क्रिकेटको लागि एक ठाउँमा बस्नु भन्दा पनि विगत बिर्सिएर अघि बढ्ने अवस्थामा पुगेका बताए। अब विश्वकप छनोट नजिकिंदै गएको भन्दै मल्लले छनोटमा खेलमा केन्द्रीत हुने थपे।
सेन्ट्रल कन्ट्रयाक्टमा वर्गीकरणको विषयमा सञ्चारमाध्यममा बोलेका कारण चार खेलाडी ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी र कमलसिंह ऐरीलाई कारबाही गरिएको थियो। त्यसपछि क्रिकेट संघ र खेलाडीबीचको विवाद उत्कर्षमा पुगेको थियो।
क्यानले मल्ल र ऐरीको कप्तान र उपकप्तान पदबाट हटाउँदै युवा लेगस्पिनर सन्दीप लामिछानेलाई नयाँ कप्तानको जिम्मेवारी दिएको थियो।