घरेलु टोली दक्षिण अफ्रिकाले दोस्रो टेष्टमा भारतमााथि ७ विकेटको सानदार जित निकालेको छ। यो जितसँगै अफ्रिकाले तीन टेष्ट खेलको सिरिज १-१ को बराबरीमा ल्याएको छ।
अफ्रिकाको यो ऐतिहासिक जित हो। यसअघि, जोहान्सबर्ग मैदानमा २४० रनभन्दा माथिको लक्ष्य अफ्रिकाले पूरा गरेको थिएन । साथै, भारतले यो मैदानमा हालसम्म एक टेष्ट पनि गुमाएको थिएन।
यो जितसँगै अफ्रिकाले तीन खेलको श्रृंखला १-१ को बराबरीमा ल्याएको छ। पहिलो खेलमा ११३ रनले पराजित भएको अफ्रिकाले सिरिजको दोस्रो खेल एक दिन बाँकी रहँदै ३ विकेट गुमाएर पुरा गर्यो।
२ सय ४० रनको विजयी लक्ष्य पछ्याएको घरेलु टोली दक्षिण अफ्रिकाले ६७.४ ओभरमा मात्र ३ विकेट गुमाउँदै पुरा गर्यो। उसका लागि कप्तान डिन एल्गर सर्वाधिक ९६ रनको अविजित इनिङ खेले। यस्तै टेम्बा बभुमा २३ रनमा अविजित रहे।
चौथो दिन वर्षाको कारण सुरूवाती दुई सेसन हुन सकेको थिएन। अफ्रिकाले चौथो दिनको सुरूआत ११८–२ को बलियो अवस्थाबाट गरेको थियो। दक्षिण अफ्रिकालाई जितको लागि १ सय २२ रन आवश्यक भएको बेला कप्तान एल्गर र रास्सी भान डर डुसेनले उत्कृष्ट इनिङ्स खेले।
त्यसअघि ओपनर एडेन मारक्रमले ३१, किगन पिटरसन २८ र रास्सी भान डर डुसेसले ४० रन जोडेका थिए।
भारतका मोहम्मद शामी, शार्दुल ठाकुर र रविचन्द्रन आश्विनले समान १-१ विकेट लिए।
त्यसअघि तेस्रो दिन नै भारत दोस्रो इनिङमा २ सय ६६ रनमा अल आउट भयो। भारतका लागि अजिक्या रहाणेले सर्वाधिक ५८ रन बनाए। चेतेश्वर पुजाराले ५३ रन जोडेका थिए। तेस्रो विकेटका लागि रहाणे र पुजाराले १ सय ११ रनको शतकीय साझेदारी गर्दै राम्रो योगफलको सम्भावना देखाएपनि त्यसपछिका ब्याटर चल्न नसक्दा भारत मध्यम योगफलमा समेटियो।
हनुमा विहारी ४० रनमा अविजित रहँदा शार्दुल ठाकुर २८, मयंक अग्रवाल २३, रविचन्द्रन आश्विन १६ र कप्तान लोकेश राहुल ८ रनमा आउट भए।
दक्षिण अफ्रिका तीव्र गतिका बलर कागिसो रबाडा र लुन्गी एनगिडी र मार्को ज्यानसनले समान ३–३ विकेट लिए।
दक्षिण अफ्रिका पहिलो इनिङमा २ सय २९ रनमा अल आउट भएको थियो। समग्रमा भारतले २७ रनको अग्रता लिएको थियो।
दक्षिण अफ्रिका किगन पिटरसनले सर्वाधिक ६२ रन बनाएका थिए। टेम्बा बभुमाले ५१ रन बनाउँदा अन्य खेलाडी सस्तैमा आउट भए।
कप्तान डिएन एल्गरले २८ रन बनाउँदा मार्को ज्यानसन, केशव महाराज र विकेटकिपर काइल भेरेनेले समान २१–२१ रन बनाए।
घरेलु टोलीलाई सस्तैमा रोक्न भारतका तीव्र गतिका बलर शार्दुल ठाकुरले सर्वाधिक ७ विकेट लिए। उनले १७.५ ओभरमा ३ मेडन राख्दै ६१ रन खर्चिए। दक्षिण अफ्रिकाविरुद्ध कुनै पनि भारतीय बलरले एक इनिङमा गरेको यो नै उत्कृष्ट प्रदर्शन हो।
यस्तै मोहम्मद शामीले २ र जस्प्रित बुमराहले १ विकेट लिएका थिए।
पहिलो पारीमा भारतीय टिम २०२ रनमा अलआउट भएको थियो। उसका लागि कप्तान केएल राहुलले मात्र अर्धशतकीय पारी खेल्न सकेका थिए। उनले १३३ बलमा ९ चौकासहित सर्वाधिक ५० रन बनाएका थिए।
विराट कोहलीको अनुपस्थितिमा दोस्रो टेष्टमा राहुलले कप्तानी गरिरहेका हुन्। त्यस्तै, रविचन्द्रन आश्विनले ४४, मयंक अग्रवालले २६, हनुमा बिहारीले २० र ऋषभ पन्तले १७ रनको योगदान दिएका थिए। जसप्रित बुमराहले ११ बलमा एक छक्का र दुई चौकासहित अविजित १४ रन रन बनाए ।
बलिङमा मार्को जेनसनले चार, कागिसो रबाडा र दाउने ओलिभियरले समान तीन-तीन विकेट लिएका थिए।
तेस्रो तथा निर्णायक टेस्ट खेल ११ जनवरी देखि सुरू हुनेछ। टेस्ट पछि भारत र दक्षिण अफ्रिकाबीच तीन ओाडिआई खेलको सिरिज हुनेछ।