एसेज शृंखलाअन्तर्गत चौथो टेस्ट बराबरीमा सकिएको छ। सिड्नीमा घरेलु टिम अस्ट्रेलियाले दिएको ३८८ रनको लक्ष्य पछ्याएको इंग्ल्यान्डले पाँचौ दिनको खेल सकिदा ९ विकेटको क्षतिमा २७० रन जोडेपछि खेल बराबरीमा सकिएको हो।
पाँचौ दिनको खेल सकिन अन्तिम दुई ओभर बाँकी रहदा नवौं विकेट गुमाएको इंग्ल्यान्डका जेम्स एन्डर्सन ० र स्टुवार्ड बोर्ड ८ रनमा अविजित रहेपछि खेल पनि बराबरीमा सकियो।
दोस्रो इनिङ्ग्समा इंग्ल्यान्डका लागि ओपनर ज्याक क्रउलीले सबैभन्दा बढी ७७ रनको योगदान दिए। बलिङमा अस्ट्रेलियाका स्कट बोल्यान्डले तीन विकेट लिए।
त्यसअघि दोस्रो इनिङ्ग्समा अस्ट्रेलियाले ६ विकेटको क्षतिमा २५६ रन जोडेर इनिङ्ग्स समाप्तीको घोषणा गरेपछि इंग्ल्यान्डले ३८८ रनको लक्ष्य पाएको थियो। दोस्रो इनिङ्ग्ग्समा अस्ट्रेलियाका लागि उस्मान खावजाले नटआउट १०१ जोडे।
पहिलो इनिङ्ग्समा अस्ट्रेलियाले ४१६-८ मा इनिङग्स समाप्तीको घोषणा गर्दा इंग्ल्यान्ड २९४ रनमा अलआउट भएको थियो।
पहिलो इनिङ्ग्समा पनि अस्ट्रेलियाका खवाजाले शतक बनाउने क्रममा १३७ रन जोडेका थिए भने इंग्ल्यान्डका लागि जोनी बायर्स्टोले ११३ रन बनाएका थिए।
यसअघिका तीन टेस्टमा लगातार जित निकाल्दै घरेलु टिम अस्ट्रेलियाले एसेज शृंखलामा कब्जा गरिसकेको छ।