न्यूजिल्याण्ड र बंगलादेशबीचको दोस्रो टेष्ट क्रिकेटमा एउटा रमाइलो घटना भएको छ। ब्याटरले १ बलमा ७ रन लिएका छन्। नो बल पनि छैन, अम्पाएरले वाइड पनि दिएका छैनन् कसरी बन्यो त ७ रन?
न्यूजिल्याण्ड र बंगलादेशबीचको दोस्रो टेष्ट आइतबारदेखि शुरू भएको छ। बंगलादेशले टस जितेपछि घरेलु टोलीले पहिले ब्याटिङको निम्तो पाएको थियो।
उक्त खेलको २६ औं ओभरको एउटा बलमा ७ रन बनेको थियो। तिब्र गतिका बलर इबाद हुसेनले ७ रन दिन पुगेका हुन्। ओभरको अन्तिम बलमा विल यङले शट खेले, बल दोस्रो स्लिपमा पुगेको थियो भने क्याच ड्रप हुन पुग्यो।
बल फिल्डरको हातमा लागेपछि थर्डम्यानको दिशातिर गएको थियो। यसबीचमा यङ र टम लाथमले दौडेर ३ रन लिइसकेका थिए। बललाई बाउन्ड्री लाइनमा तस्कीन अहमदले चौका हुनबाट रोकेका थिए। उनले विकेट किपरलाई थ्रो गरे।
विकेटकिपर नुरूल हसनले स्टम्पतिर थ्रो गरे। तर मिस फिल्ड हुँदै बल बाउन्ड्री लाइन बाहिर गयो। यो सँगै यङले एकै बलमा नो बल र वाइड बिनै ४ +३ = ७ रन लिए। यङ ५४ रन बनाएर आउट भएका थिए। उनले पहिलो विकेटका लागि १४८ रनको साझेदारी गरेका थिए।
यसैबीच बंगलादेशविरूद्धको दोस्रो टेस्टमा घरेलु टोली न्यूजिल्यान्डले ५ सय २१ रनको विशाल योगफल तयार पारेको छ ।
कप्तान टम लाथमको दोहोरो शतक तथा डेभोन कनवेको शतकको मदतमा न्यूजिल्यान्डले ६ विकेट गुमाएर ५ सय २१ रनमा पहिलो इनिङ्स समाप्तीको घोषणा गरेको छ।
टमले २ सय ५२ रन जोड्ने क्रममा ३ सय ७३ बलको सामना गरे। उनले दुई छक्का र ३४ चौका हिर्काएका थिए।
डेभोनले १ सय ९ रनको योगदान दिए। उनले १ सय ६६ बल खेल्दा एक छक्का र १२ चौका हानेका थिए।
टम बल्नडेल ५७ रनमा नटआउट रहे।
बंगलादेशका शोरिफुल इस्लाम र इबादोत होसेनले समान दुई–दुई विकेट हात पारे भने मोमिनुल हकले एक विकेट लिएका थिए। बंगलादेशले अहिले जवाफ ब्याटिङ सुरू गरेको छ।