नेपाली अम्पायर बुद्धि प्रधान आइसिसी यू-१९ विश्वकप क्रिकेट २०२२ का लागि अम्पायर नियुक्त भएका छन्।
आगामी पुस ३० गतेदेखि वेस्ट इन्डिजमा हुने विश्वकप नेपालका बुद्धिसहित १९ जना अम्पायरले खेलाउने भएका हुन्।
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) का अनुसार अनुभवी इंग्लिस अम्पायर डेभिड मिल्न्स र नेपालका प्रधानले उद्घाटन खेल खेलाउनेछन्। उद्घाटन खेल आगामी पुस ३० मा वेस्ट इन्डिज र अस्ट्रेलियाबीच गुयनामा हुनेछ।
४६ वर्षीय प्रधान नेपालका अनुभवी अम्पायर हुन्। विराटनगरका प्रधानले सन् २००६ मा केन्या र बर्मुडाबीचको खेलबाट एकदिवसीय खेलमा अम्पायरको भूमीका निर्वाह गर्न थालेका थिए।
त्यसयता प्रधानले ३० एकदिवसीय र ४४ टी-२० का खेल खेलाइसकेका छन्।
नेपालका अम्पायरहरूमा देवेन्द्र सुवेदी र प्रधानले मात्र एकदिवसीय खेल खेलाउने अवसर पाएका छन्। सुवेदीले ४ एकदिवसीय खेलमा अम्पायरको भूमीका निर्वाह गरेका छन्।
२०१८ को यू-१९ विश्वकपमा पनि अम्पायरको भूमीकामा रहेका प्रधानले लगातार दोस्रो पटक युवा विश्वकप खेलाउन लागेका हुन्।
१४ देशका १९ अम्पायर मध्ये पाँच जनाले टेलिभिजन अम्पायरको भूमीका पनि निर्वाह गर्नेछन्।
यसपटकको यू-१९ विश्वकपका खेल गुयना, एन्टिगुआ, सेन्ट किट्स एन्ड नेभिस र ट्रिनिडाड एन्ड टोबागोमा हुनेछन्। चार देशका १० भेन्यूमा खेल संचालन हुनेछ।
विश्वकपमा १६ टिमबीच प्रतिस्पर्धा हुँदैछ। जसमा न्युजिल्यान्डबाहेक ११ टेस्ट देशसहित स्टकल्यान्ड, पपुवा न्युगिनी, युगान्डा, क्यानडा र युएई रहेका छन्।
कोभिड-१९ का कारण एसिया छनोट स्थगित हुँदा नेपालले विश्वकप खेल्ने अवसर गुमाएको थियो। पछिल्ला छनोटको आधारमा एसियाबाट युएई विश्वकपमा छनोट भएको थियो।