प्रधानमन्त्री कप टी-२० राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा सशस्त्र प्रहरी बलको एपिएफ क्लबले लगातार दोस्रो जित हात पारेको छ।
मंगलबार त्रिवि मैदान कीर्तिपुरमा भएको दिनको दोस्रो खेलमा एपिएफले बागमति प्रदेशलाई ७ विकेटले पराजित गर्यो।
बागमतिले दिएको १२६ रनको लक्ष्य एपिएफले १८.४ ओभरमा ३ विकेट गुमाएर गर्यो।
एपिएफका लागि प्रदीप ऐरीले नटआउट ३६ रन जोडे। यस्तै लोकेश बमले ५० रन प्रहार गरे। बमले २४ बलमा १० चौका र १ छक्का हिर्काए। सन्दीप जोराले नटआउट १५ रन जोडे।
बलिङमा बागमतिका रामनरेश गिरी, रिजन ढकाल र प्रतिश जिसीले १-१ विकेट लिए।
त्यसअघि पहिले ब्याटिङ गरेको बामगतिले ८ विकेटको क्षतिमा १२५ रन जोड्यो।
बागमतिका लागि ओपनर इशान पाण्डेले २९ रन र सुवास खकुरेलले २१ रन जोडेर कप्तान ज्ञानेन्द्र मल्ल ६ रनमा आउट भएका थिए भने अदिल खानले १९ रन बटुले।
बलिङमा एपिएफका अभिनास बोहरा ४ विकेट लिए भने कमलसिंह ऐरीले २ विकेट हात पारे।
यही समूहको अर्को खेलमा प्रदेश २ ले गण्डकी प्रदेशलाई पराजित गरेको छ। मुलपानीमा भएको दिनको दोस्रो खेलमा प्रदेश २ ले गण्डकी प्रदेशलाई २ विकेटले हरायो।
पहिले ब्याटिङ गरेको गण्डकीले ७ विकेटको क्षतिमा ११६ रन जोड्यो। गण्डकीका लागि अर्जुन कुमालले सबैभन्दा बढी ४१ रन जोडे। ३९ बल खेलेका उनले ६ चौका हिर्काए।
बलिङमा प्रदेश २ का अदिल अलामले २ विकेट लिए।
११७ रनको लक्ष्य प्रदेश २ ले १८.१ ओभरमा ८ विकेटको क्षतिमा पूरा गर्यो।
प्रदेश २ का लागि हसिम अन्सारीले २६ रन, सन्तोष कार्कीले २३ रनको योगदान दिए।
बलिङमा गण्डकीका कृष्ण पौडेलले ३ विकेट लिए भने सुवास भण्डारी र विशाल पौडेलले २-२ विकेट लिए।