दक्षिण अफ्रिकासँगको टेष्ट सिरिजको तेस्रो तथा निर्णायक खेलमा भारत आफ्नो पहिलो पारीमा २ सय २३ रनमै अलआउट भएको छ।
केप टाउनमा टस जितेर पहिला ब्याटिङ रोजेको भारत ७७.३ ओभरमा सबै विकेट गुमाउँदै २ सय २३ रन बनाएर अलआउट भएको हो ।
उसका लागि कप्तान विराट कोहलीले अर्धशतकीय पारी खेले । उनले २ सय १ बलमा १२ चौका र एक छक्काको मद्दतमा ७९ रन बनाए ।
त्यस्तै, चेतेश्वर पुजाराले ४३, ऋषभ पन्तले २७, मयंक अग्रवालले १५, शार्दुल ठाकुर, केएल राहुलले १२/१२, अजिंक्य रहाणेले ९, रविचन्द्रन आश्विनले २, जसप्रीत बुमराहले शून्य, मोहम्मद शामीले ७ र उमेश यादवले अविजित ४ रन बनाए ।
बलिङमा कगिसो रबाडाले २२ ओभरमा चार मेडनसहित ७३ रन खर्चिएर सर्वाधिक चार विकेट हात पारे । त्यस्तै, मार्को जेन्सेनले तीन, डुआन ओलिभर, केशव महाराज र लुंगी एनगिडीले एक/एक विकेट लिए ।
गएरातिनै आफ्नो पारी सुरू गरेको दक्षिण अफ्रिकाले आफ्नो पहिलो पारीमा ८ ओभरमा १७ रन बनाएर एक विकेट गुमाएको छ। यो सँगै दक्षिण अफ्रिका २ सय ६ रनले पछि छ।
दक्षिण अफ्रिकाले आफ्नो पहिला विकेटको रुपमा कप्तान डिन एल्गरलाई गुमाएको हो। उनलाई जसप्रीत बुमराहले चेतेश्वर पुजाराको हातबाट क्याच आउट गराए।
भारत र दक्षिण अफ्रिकाबीचको तीन खेलको टेष्ट सिरिज एक/एकको बराबरीमा रहेको छ।
सिरिजको पहिलो खेल भारतले जितको थियो भने दोस्रो खेल दक्षिण अफ्रिकाले जित्न सफल भयो । जो टिम जारी म्याच जित्नेछ उसले सिरिज आफ्नो नाममा गर्नेछ ।