राजधानीमा जारी प्रधानमन्त्री कप राष्ट्रिय पुरूष टी-२० क्रिकेट प्रतियोगितामा बिहिबार चार खेल हुँदैछन्। त्रिवि क्रिकेट मैदानमा दुई र मूलपानी मैदानमा दुई टिमले प्रतिस्पर्धा गर्न लागेका हुन् ।
त्रिवि मैदानमा हुने पहिलो खेलमा कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश भिड्नेछन्। समूह ए मा रहेको कर्णाली दुई खेलमा दुई अंक जोडेर तेस्रो स्थानमा छ। कर्णाली सुदूरपश्चिमलाई स्तब्ध पार्दै सेमिफाइनल सम्भावना जीवित राख्न चाहन्छ।
यस्तै पहिलो खेलमा पराजय व्यहोरेको सुदूरपश्चिम अंकविहीन छ। सुदूरपश्चिम पनि कर्णालीलाई हराउँदै पहिलो जित दर्ता गर्ने लयमा छ।
यस्तै त्रिवि मैदानमा आजै हुने दोस्रो खेलमा प्रदेश-२ र लुम्बिनी प्रदेश आमनेसामने हुनेछन्।
गण्डकी प्रदेशलाई हराएको प्रदेश २ लुम्बिनीलाई हराउँदै सेमिफाइनलमा प्रवेश सम्भावना बलियो बनाउन चाहन्छ। उसले २ खेलबाट २ अंक जोडिसकेको छ।
यता पहिलो खेलमा बागमतीसँग पराजय व्यहोरेको लुम्बिनी अंक विहीन रहँदै पुछारमा छ। लुम्बिनी पनि प्रदेश-२ लाई हराएर पहिलो जितको खोजिमा हुनेछ।
यस्तै मुलपानीमा हुने पहिलो खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबले प्रदेश-१ को सामना गर्ने छ।
समूह ए को आर्मी २ खेलमा २ अंक जोडेर दोस्रो स्थानमा छ। आर्मी प्रदेश-१ लाई हराउँदै सेमिफाइनल सम्भावनालाई जिवित राख्न चाहन्छ। पहिलो खेलमा हार बेहोरेको प्रदेश-१ ले अंक जोड्न सकेको छैन। प्रदेश-१ पनि आर्मीलाई पराजित गर्दै पहिलो जित हात पार्ने सोचमा छ।
मूलपानीमै हुने आजको दोस्रो खेलमा नेपाल एपिएफ क्लबले गण्डकी प्रदेशको सामना गर्नेछ । समूह बी को शीर्ष स्थानमा रहेको एपिएफको २ खेलबाट ४ अंक जोडेको छ। एपिएफ गण्डकीलाई हराएर लगातार तेस्रो जित निकाल्दै सेमिफाइनलमा यात्रा सुनिश्चित गर्ने सोचमा हुनेछ।
यता पहिलो खेलमा पराजित भएको गण्डकी एपिएफलाई स्तब्ध पार्दै अंक जोड्न तयारीमा छ।
प्रतियोगितामा सहभागी १० टिमलाई दुई समूहमा विभाजन गरिएको छ। समूह ‘ए’ मा आर्मी क्लब, कर्णाली प्रदेश, पुलिस क्लब, सुदूरपश्चिम प्रदेश र प्रदेश नं. १ रहेका छन् ।
समूह ‘बी’ अन्तर्गत एपीएफ क्लब, प्रदेश नं. २, बागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेश रहेका छन् ।
दुबै समूहका विजेता र उपविजेता टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् ।
प्रतियोगिताको फाइनल खेल माघ ५ गते हुनेछ ।
नेपाल क्रिकेट संघ (क्यान) ले यसलाई ओमानमा हुने आइसिसी टी–ट्वान्टी विश्वकपको ग्लोबल छनोटका लागि खेलाडी छनोट गर्ने प्रतियोगिताको रुपमा समेत लिएको छ ।