दक्षिण अफ्रिकाविरुद्धको तेस्रो तथा निर्णायक टेस्टमा पाहुना टोली भारतले ७० रनको अग्रता बनाएको छ ।
दोस्रो इनिङ्स थालेको भारतले दोस्रो दिनको समाप्तीमा दुई विकेट गुमाएर ५७ रन जोड्दै घरेलु टोलीविरूद्ध अग्रता बनाएको हो।
यसअघि पहिलो इनिङ्समा भारतले दिएको २ सय २३ रन पछ्याएको घरेलु टोली दक्षिण अफ्रिका २ सय १० रनमा अलआउट भएको थियो।
बुधबार सुरू गरेको दोस्रो इनिङ्समा भारतका लागि केएल राहुल १० तथा मयंक अग्रवालले ७ रन जोडेर आउट भएका थिए। त्यसपछि क्रिजमा कप्तान विराट कोहलीले १४ रन तथा चेतेश्वर पुजारा ९ रनमा छन्।
दक्षिण अफ्रिकाका कगिसो रबाडा र मार्को जानसेनले एक-एक विकेट हात पारेका छन्।
यसअघि भारतसँगको टेष्ट सिरिजको तेस्रो तथा निर्णायक खेलमा दक्षिण अफ्रिका आफ्नो ७३.३ ओभरमा सबै विकेट गुमाउँदै २ सय १० रनमा अलआउट भयो
उसका लागि कीगन पीटरसनले अर्धशतकीय पारी खेले । उनले १ सय ६६ बलमा ९ चौकाको मद्दतमा ७२ रन बनाए । त्यस्तै, टेम्बा बबुमाले २८, केशव महाराजले २५, रस्सीभ्यानडर दुसेनले २१, कागिसो रबाडाले १५ र डुआन ओलिभरले अविजित १० रन बनाए ।
बलिङमा जसप्रीत बुमराहले उत्कृष्ट बलिङ गरे । उनले २३.३ ओभरमा ८ मेडनसहित ४२ रन खर्चिएर पाँच विकेट हात पारे। त्यस्तै, मोहम्मद शामी, उमेश यादवले दुई/दुई र शार्दुल ठाकुरले एक विकेट लिए ।
त्यसअघि भारत आफ्नो पहिलो पारीमा २ सय २३ रनमै अलआउट भएको थियो।
केप टाउनमा टस जितेर पहिला ब्याटिङ रोजेको भारत ७७.३ ओभरमा सबै विकेट गुमाउँदै २ सय २३ रन बनाएर अलआउट भएको हो ।
उसका लागि कप्तान विराट कोहलीले अर्धशतकीय पारी खेले । उनले २ सय १ बलमा १२ चौका र एक छक्काको मद्दतमा ७९ रन बनाए ।
त्यस्तै, चेतेश्वर पुजाराले ४३, ऋषभ पन्तले २७, मयंक अग्रवालले १५, शार्दुल ठाकुर, केएल राहुलले १२/१२, अजिंक्य रहाणेले ९, रविचन्द्रन आश्विनले २, जसप्रीत बुमराहले शून्य, मोहम्मद शामीले ७ र उमेश यादवले अविजित ४ रन बनाए ।
बलिङमा कगिसो रबाडाले २२ ओभरमा चार मेडनसहित ७३ रन खर्चिएर सर्वाधिक चार विकेट हात पारे । त्यस्तै, मार्को जेन्सेनले तीन, डुआन ओलिभर, केशव महाराज र लुंगी एनगिडीले एक/एक विकेट लिए ।
भारत र दक्षिण अफ्रिकाबीचको तीन खेलको टेष्ट सिरिज एक/एकको बराबरीमा रहेको छ।
सिरिजको पहिलो खेल भारतले जितको थियो भने दोस्रो खेल दक्षिण अफ्रिकाले जित्न सफल भयो । जो टिम जारी म्याच जित्नेछ उसले सिरिज आफ्नो नाममा गर्नेछ ।