प्रधानमन्त्री कप टी-२० राष्ट्रिय प्रतियोगितामा सुदूपश्चिम प्रदेशले पहिलो जित हात पारेको छ। बिहीबार कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको समूह 'ए' को खेलमा सुदूरपश्चिमले कर्णाली प्रदेशलाई ४७ रनले पराजित गरेको हो।
टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले ८ विकेटको क्षतिमा १५३ रन जोड्यो। उसका लगि अर्जुन साउदले ३२ रन, दीपक बोहराले २५ रन, खडक बोहोराले २२ रन र बसन्त कार्कीले २८ रन जोडे।
बलिङमा कर्णालीका प्रकाश जैसीले ३ विकेट लिए। दिवान पुन र रवीन्द्र शाहीले २-२ विकेट हात पारे।
१५४ रनको लक्ष्य पछ्याएको कर्णाली १९.१ ओभरमा १०६ रनमै अलआउट भयो।
उसका लागि रवीन्द्र शाहीले ३५ रन, अर्जुन घर्तीले ३० रन र अनुप कुँवरले १३ रन जोडे।
अन्य ब्याट्सम्यान दोहोरो अंकमा रन जोड्न नपाइ आउट भए।
बलिङमा सुदूपश्चिमका शेर मल्लले ४ विकेट लिए भने हेमन्त धामीले २ विकेट हात पारे।
यता त्रिभुवन आर्मी र प्रदेश एकबीच मुलपानीमा निर्धारित खेल मैदान हिलो हुँदा रद्द भएको छ। जसका कारण दुवै टिमले एक एक अंक पाएका छन्।