प्रधानमन्त्री कप टी-२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा सशस्त्र प्रहरी बलको एपिएफ क्लबले लगातार तेस्रो खेलमा जित हात पारेको छ।
एपिएफले आज मुलपानीमा भएको समूह 'बी' को खेलमा गण्डकी प्रदेशलाई २ रनले पराजित गर्यो।
टस जितेर पहिले ब्याटिङ गरेको एपिएफ १८.४ ओभरमा ९२ रनमै अलआउट भयो।
एपिएफका लागि ओपनर प्रदीप ऐरीले सबैभन्दा बढी १७ रन जोडे भने अर्का ओपनर आसिफ शेखले १६ रनको योगदान दिए। दीपक बोहराले १५ रन बटुले।
बलिङमा गण्डकीका कमल परियारले ३ विकेट लिए भने विशाल पौडेलले २ विकेट लिन सके।
९३ रनको लक्ष्य पछ्याएको गण्डकीले २० ओभरमा ७ विकेटको क्षतिमा ९० रन मात्र जोड्न सक्यो।
अन्तिम ओभरमा ६ रन चाहिएको स्थितिमा गण्डकीले २ विकेट गुमाउँदा ३ रन मात्र जोड्न सक्यो।
अन्तिम ओभरको पहिलो बलमा एपिएफका किशोर महतोले गण्डकीका विधान श्रेष्ठलाई आउट गरे। पाँचौ बलमा विशाल पौडेल ६ रनमा रनआउट भएपछि अन्तिम बलमा जितका लागि ३ रन चाहिएको थियो। तर अन्तिम बलमा कृष्ण पौडेलले १ रन मात्र लिन सके।
गण्डकीलाई रोक्नका लागि एपिएफका कमलसिंह ऐरीले ३ विकेट लिए। उनले ४ ओभरमा १० रन दिए भने १७ बल डट फ्याँक्दा कुनै चौका र छक्का दिएनन्।
किशोर महतोले २ विकेट र अभिनास बोहराले १ विकेट लिए।
यता कीर्तिपुर मैदानमा भएको खेलमा लुम्बिनी प्रदेशले प्रदेश दुईलाई ४२ रनले पराजित गरेको छ।
पहिले ब्याटिङ गरेको लुम्बिनीले ८ विकेटको क्षतिमा १६१ रन जोड्यो।
लुम्बिनीका लागि देव खनालले ५४ रन जोडे। उनले ३८ बलमा ४ चौका र २ छक्का हिर्काए। बासिर अहमेद र सन्दीप रजालीले ३०-३० रन जोडे।
बलिङमा प्रदेश दुईका रूपेश सिंह र विवेक यादव २-२ विकेट लिए।
१६२ रनको लक्ष्य पछ्याएको प्रदेश दुईले ९ विकेटको क्षतिमा ११९ रन मात्र जोड्न सक्यो।
प्रदेश २ का लागि विवेक यादवले २४ बलमा नटआउट ३६ रन जोडेका थिए। अन्य ब्याट्सम्यान सस्तैमा आउट भए।
बलिङमा लुम्बिनीका अनिल खरेलले ५ विकेट लिए। उनले चार ओभरमा १ मेडन राख्दा १३ रन खर्चिए। अनिलले २१ बल डट फ्याँकेका थिए। तीन बलमा मात्र रन दिएका उनले दुई छक्का र एक रन दिएका थिए।