राजधानीमा जारी प्रधानमन्त्री कप टी २० राष्ट्रिय प्रतियोगितामा शुक्रबा चार खेल हुँदैछन्।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान र मुलपानी क्रिकेट मैदानमा समान २-२ खेल हुने तालिका छ।
कीर्तिपुरमा हुने पहिलो खेलमा कर्णाली प्रदेशले शीर्ष स्थानको नेपाल पुलिस क्लबको सामना गर्नेछ।
प्रतियोगितामा दुई खेलमा शतप्रतिशत जित निकालेको पुलिसको ४ अंक छ। यस्तै तीन खेलबाट २ अंक जोडेको कर्णालीले अन्तिम खेलमा आज पुलिसलाई रोक्दै सेमिफाइनल प्रवेश सम्भावना कायमै राख्ने तयारीमा छ।
कीर्तिपुरमा हुने दोस्रो खेलमा दिउँसो समूह बी को बागमतीले प्रदेश २ को सामना गर्नेछ।
बागमतीले २ खेलबाट २ अंक जोडेको छ भने प्रदेश २ ले ३ खेलबाट समान २ अंक बटुलेको छ। आज अन्तिम खेलमा अंक जोड्दै प्रदेश २ सेमिफाइनल प्रवेश सम्भावना कायमै राख्न चाहन्छ भने बागमती प्रदेश २ लाई पन्छाउँदै अघि बढ्न चाहन्छ।
त्यस्तै मुलपानीमा हुने पहिलो खेलमा त्रिभुवन आर्मी क्लबले लिग चरणको आन्नो अन्तिम खेलमा सुदूरपश्चिम प्रदेशको सामना गर्दैछ। ३ खेलबाट ३ अंक जोडेको आर्मीका लागि आजको खेल जित्नैपर्ने दबाब छ। यस्तै एक खेल कम खेलेको सुदूरपश्चिम पनि आर्मीलाई पन्छाउँदै सेमिफाइनलतर्फ अगाडि बढ्ने प्रयासमा हुनेछ।
यस्तै आजै हुने मुलपानीको दोस्रो खेलमा समूह बी शीर्ष टोली एपीएफले लुम्बिनी प्रदेशको सामना गर्नेछ।
लगातार तेस्रो जितसहित सेमिफाइनल नजिक पुगेको विभागीय टोली आज अंक जोड्दै समूह विजेताका रूपमा सेमिफाइनल पुग्नेछ। यता २ खेलमा २ अंक जोडेको लुम्बिनी एपिएफलाई रोक्दै सेमिफाइनल प्रवेशको सम्भावना जिवितै राख्न चाहन्छ।
अंकतालिका
प्रतियोगितामा ७ वटा प्रदेश तीन विभागीय टिम गरी कुल १० टीम छन्। जसलाई दुईवटा समूहमा बाँडिएको छ।
- समूह ए: त्रिभुवन आर्मी क्लब, कर्णाली प्रदेश, नेपाल पुलिस क्लब, सुदूरपश्चिम प्रदेश, प्रदेश १
- समूह बी: नेपाल एपीएफ क्लब, प्रदेश २, वाग्मती प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेश
समूह ए मा २ खेलबाट ४ अंक जोडेको नेपाल पुलिस शीर्षस्थानमा छ भने दोस्रो स्थानमा तीन खेलबाट तीन अंक जोडेको त्रिभुवन आर्मी क्लब छ। त्यस्तै तेस्रो र चौथो स्थानमा समान २ अंक जोडेका सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेश छन् भने १ अंक जोडेको प्रदेश १ तालिकाको पुछारमा छ।
समूह बी मा ६ अंक जोडेको एपीएफ शीर्षस्थानमा रहँदा समान २ अंक जोडेका वाग्मती, लुम्बिनी र प्रदेश दुई दोस्रो, तेस्रो र चौथो स्थानमा छन्। जितविहीन गण्डकी तालिकाको पुछारमा छ।