प्रधानमन्त्री कप टी-२० क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबले लगातार तेस्रो जित हात पारेको छ।
पुलिसले शुक्रबार कीर्तिपुर मैदानमा भएको खेलमा कर्णाली प्रदेशलाई ८९ रनको फराकिलो अन्तरले पराजित गर्यो।
टस जितेर पहिले ब्याटिङ गरेको पुलिसले ६ विकेटको क्षतिमा २४४ रनक जोड्यो।
जारी प्रतियोगिताकै सर्वाधिक स्कोर बनाएको पुलिसका लागि कुशल भुर्तेलले ८२ रन जोडे। उनले ३९ बलमा ९ चौका र ३ छक्का हिर्काए। दीपेन्द्रसिंह ऐरीले ६२ रन बनाए। उनले २८ बलमा ९ चौका र २ छक्का हिर्काए।
पवन सराफले २२ रन, कप्तान मन्जित श्रेष्ठले १९ रन, आरिफ शेखले ९ बलमा नटआउट १८ रन र दिलीप नाथले १० बलमा नटआउट ३१ रन बटुले।
बलिङमा कर्णालीका रवीन्द्र शाही, प्रशास जैसी र अनुज चनाराले २-२ विकेट लिए।
२४५ रनको लक्ष्य पछ्याएको ९ विकेटको क्षतिमा १५५ रन मात्र जोड्न सक्यो। कर्णालीका लागि प्रशास जैसीले ६८ रन जोडे। बलिङमा पुलिसका दीपेन्द्र र योगेन्द्रसिंह कार्कीले २-२ विकेट लिए।
यता मुलपानीमा भएको खेलमा आर्मीले सुदूरपश्चिमलाई ३ विकेटले हरायो।
पहिले ब्याटिङ गरेको सुदूरपश्चिम २० ओभरमा ११५ रनमा अलआउट भयो। उसका लागि खडक बोहोराले ३७ रन र बसन्त कार्कीले ३४ रन जोडे।
आर्मीले ११६ रनको लक्ष्य ७ विकेटको क्षतिमा अन्तिम बलमा पूरा गर्यो।
आर्मीको लागि विक्रम शोवले नटआउट २९ रन जोडे भने साहब अलामले नटआउट १५ रन जोडे। बलिङमा सुदूरपश्चिममा आदित्य महताले ४ विकेट लिए।