प्रधानमन्त्री कप टी-२० क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशले दोस्रो जित हात पारेको छ।
आइतबार कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको समूह ‘ए’को खेलमा सुदूरपश्चिमले प्रदेश एकलाई ७ विकेटले पराजित गर्यो।
टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश एकले ९ विकेटको क्षतिमा १५८ रन जोड्यो। प्रदेश एकका लागि मुकुन्द यादवले ३४ रन,
सोनु अन्सारीले ३१ रन, मिनास थापाले २३ रन र अंकित सुवेदीले २३ रनको योगदान गरे।
बलिङमा सुदूपश्चिमका हेमन्त धामी र नारायण जोशीले २-२ विकेट लिए।
१५९ रनको लक्ष्य सुदूरपश्चिमले १९.१ ओभरमा ३ विकेटको क्षतिमा पूरा गर्यो। उसका लागि राजु रिजालले नटआउट ६८ रन जोडे। उनले ५२ बलमा ९ चौका र २ छक्का हिर्काए।
कप्तान सन्तोष भट्टले ४८ रन र अर्जुन साउदले नटआउट २६ रन बटुले। साउदले ११ बलमा ३ चौका र १ छक्का हिर्काए।
समूहमा नेपाल पुलिस क्लब ३ खेलबाट ६ अंक जोड्दै शीर्ष स्थानमा छ।
दोस्रो स्थानको त्रिभुवन आर्मी क्लबको ४ खेलबाट ५ अंक छ।
समूहबाट यसअघि नै पुलिस सेमिफाइनलमा पुगिसकेको छ। सुदूपश्चिमको जितमा आर्मी पनि अन्तिम चार पुग्यो। अब समूहमा पुलिस र प्रदेश एकबीचको खेल बाँकी छ।
सुदूपश्चिम ४ अंक सहित तेस्रो स्थानमा छ भने चौथो स्थानको कर्णालीको २ र अन्तिम स्थानको प्रदेश एकको १ अंक छ। तीन टिम समूह चरणबाट बाहिरिएका छन्।