प्रधानमन्त्री कप टी-२० राष्ट्रिय क्रिकेट प्रतियोगितअन्तर्गत समूह चरणमा नेपाल पुलिस क्लबले खेलेका चारै खेलमा जित हात पारेको छ।
पुलिसले सोमबार कीर्तिपुरस्थित त्रिवि मैदानमा समूह ‘ए’ अन्तिम खेलमा प्रदेश एकलाई ६ विकेटले हरायो।
पुलिस यसअघि नै समूह विजेता बनेर अन्तिम चारमा पुगिसकेकाले आजको खेल औपचारिकतामै सीमित थियो।
जसमा पहिले ब्याटिङ गरेको प्रदेश एकले ८ विकेटको क्षतिमा १०१ रन जोड्यो।
प्रदेश एकका लागि ओपनर मिनास थापाले ५९ रन जोड्दा अन्य ब्याट्सम्यान सस्तैमा आउट भए।
बलिङमा पुलिसका मन्जित श्रेष्ठ, दीपेन्द्रसिंह ऐरी र आरिफ शेखले २-२ विकेट लिए।
१०२ रनको लक्ष्य पुलिसले ४ विकेटको क्षतिमा १३.१ ओभरमा पूरा गर्यो।
पुलिसका लागि कुशल भुर्तेलले ४४ रन, दीपेन्द्रले २० रन र अनिल साहले २६ रन जोडे।
प्रतियोगितामा यसअघि नै सेमिफाइनल समिकरण पूरा भएको थियो।
समूह ‘ए’ बाट नेपाल पुलिस क्लब विजेता र त्रिभुवन आर्मी क्लब उपविजेताको रूपमा अन्तिम चारमा पुगेका छन्।
शीर्ष स्थानको पुलिसले लगातार चार खेलमा जित निकाल्दै ८ अंक जोडेको छ। दोस्रो स्थानको आर्मीको ५ अंक छ। तेस्रो स्थानको सुदूरपश्चिमले ४ अंक र चौथो स्थानको कर्णालीले २ अंक जोडेका छन्। पाँचौ स्थानको प्रदेश एकको १ अंक छ।
समूह ‘बी’ बाट सशस्त्र प्रहरी बलको एपिएफ क्लब विजेता र बागमति प्रदेश उपविजेता बनेर सेमिफाइनल पुगेका छन्।
एपिएफले ४ खेलबाट ८ अंक जोड्यो भने दोस्रो स्थानको बागमतिले ६ अंक बटुल्यो। लुम्बिनी प्रदेशले ४ अंक जोड्दा प्रदेश दुई र गण्डकीले २-२ अंक बटुले।
अब सेमिफाइनलमा नेपाल पुलिस क्लब र बागमति प्रदेश तथा एपिएफ क्लब र आर्मीबीच प्रतिस्पर्धा हुनेछ। दुवै सेमिफाइनल मंगलबार र फाइनल बुधबार हुनेछ।