आगामी महिना इन्डियन प्रिमियर लिग (आईपीएल) २०२२ को मेघा अक्सन हुँदैछ। यसअघि दुई नयाँ टोली (अहमदावाद र लखनउ) ले ३-३ जना खेलाडी लिन सक्छन्।
यस पटक आइपिएलमा १० फ्रेन्चाइज टिमले भाग लिनेछन्। यसअघि सबै पुराना ८ टोलीले २७ खेलाडी रिटेन गरिसकेका छन्।
यसैबीच अहमदावादले तीनै जना खेलाडीलाई टिममा राखेको छ। हार्दिक पाण्ड्या, रासिद खान र शुभमन गिललाई टोलीमा राखेको हो।
आगामी २२ जनवरीसम्म दुई नयाँ टिमले ३-३ खेलाडी राख्न पाउँछन्।
अहमदावादले अघिल्लो सिजन कलकत्ता नाइट राइडर्सबाट खेलेका भारतीय खेलाडी गिल, लामो समयदेखि सनराइज हैदारावादबाट खेल्दै आएका अफगानिस्तानका स्पिनर रासिद खान र मुम्बई इन्डियन्सबाट खेल्दै आएका पाण्ड्यालाई टोलीमा राखेको हो।
यी तीनै खेलाडीलाई आफ्ना पूर्व क्लबले रिलिज गरिसकेका थिए।
पाण्ड्या र राशिदले १५-१५ करोड भारतीय रूपैयाँ पाउने भएका छन्। अघिल्लो सिजनमा पाण्ड्याले मुम्बईबाट ११ करोड र रासिदले हैदारावादले ९ करोड पाएका थिए। यसरी पाण्ड्याले ४ करोड र रासिदले ६ करोड रूपैयाँ बढी रकम पाउने भएका हुन्।
यसअघि फरक फरक टोलीबाट खेल्दै आएका तीनै खेलाडी आगामी संस्करणदेखि एकै टिममा रहेर खेल्नेछन्।
सन् २०१५ मा १० लाख भारतीय रूपैयाँमा अनक्याप्ड खिलाडीका रूपमा मुम्बई इन्डियन्सबाट आइपिएल खेल्न सुरू गरेका पाण्ड्या सन् २०१८ सम्ममा भारतकै सफल अलराउण्डरका रूपमा स्थापित भइसकेका थिए। त्यसैले मुम्बईले उनलाई सोही वर्ष ११ करोड भारतीय रूपैयामा लिलामी गरेको थियो।
हार्दिकको टोलीले सन् २०१५, २०१७, २०१९ र सन् २०२० मा आइपिएल उपाधि जितेको थियो।
तर पछिल्लो सिजन पाण्ड्याको प्रदर्शन खस्कियो। यसै कारण उनलाई मुम्बई इन्डियन्सले रिटेन गरेको थिएन। आईपिएल २०२१ मा पाण्ड्याले ११ पारीमा १२७ रन मात्र बनाएका थिए। ११३ को स्ट्राइक रेटमा ब्याटिङ गरेका उनले एक अर्धसतक समेत बनाउन सकेका थिएनन्।
पाण्ड्याको समग्र टि-ट्वान्टी करियर हेर्ने हो भने उनले १४७ खेलबाट २७९७ रन बनाएका छन्। जसमा ८ अर्धसतक समावेस छ। उनको स्ट्राइक रेट १४२ छ।
यस्तै आशिष नेहरालाई अहमदावादले मुख्य प्रशिक्षक बनाएको छ। यस्तै इङ्ल्याण्डका पूर्व ब्याटर विक्रम सोलाङ्की क्रिकेट निर्देशका नियुक्त भएका छन्।
भारतीय टिमका पूर्व प्रशिक्षकसमेत रहिसकेका गारी क्रिर्स्टेनलाई अहमदावादले मेन्टरको जिम्मा दिएको छ।
आगामी फेब्रुअरी १२ र १३ मा बैंलुरूमा आइपिएल २०२२ को मेगा अक्सन हुँदैछ।