त्रिभुवन आर्मी क्लबलाई हराउँदै सशस्त्र प्रहरी बलको एपिएफ क्लब प्रधानमन्त्री कप टी-२० राष्ट्रिय क्रिकेट प्रतियोगिता फाइनलमा प्रवेश गरेको छ।
मंगलबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आर्मीलाई ४७ रनले पराजित एपिएफ उपाधि नजिक पुगेको हो। अब उपाधिका लागि एपिएफले नेपाल पुलिस क्लबसँग बुधबार प्रतिस्पर्धा गर्नेछ। पुलिसले पहिलो सेमिफाइनलमा बागमति प्रदेशलाई हराएको थियो।
मंगलबार दोस्रो सेमिफाइनलमा एपिएफले दिएको २३१ रनको लक्ष्य पछ्याएको आर्मीले ९ विकेट क्षतिमा १८३ रन जोड्यो।
आर्मीका लागि राजेश पुलामीले २१ बलमा ३८ रन र भीम सार्कीले १९ बलमा ३५ रन जोडे। बलिङमा एपिएफका शरद भेषवाकरले ३ विकेट लिए। अभिनास बोहरा र भुवन कार्कीले २-२ विकेट लिए।
त्यसअघि पहिले ब्याटिङ गरेको एपिएफलेलोकेश बमको आक्रामक अर्धशतकमा २ विकेटको क्षतिमा २३० रन जोड्यो।
लोकेशले १४ बलमा अर्धशतक पूरा गरे। उनले १४ बलमा अर्धशतक प्रहार गर्न ७ छक्का र २ चौका प्रहार गरे। उनी खेलमा नटआउट ६६ रन जोडे, यसका लागि उनले १८ बल खेलेर २ चौका र ९ छक्का प्रहार गरे।
एपिएफका लागि ओपनरद्वय प्रदीप ऐरी र आसिफ शेखले पनि अर्धशतक हिर्काए। प्रदीपले नटआउट ५७ रन र आसिफले ८४ रन जोडे।
प्रदीपले ५३ बलमा ७ चौका र १ छक्का प्रहार गर्दा आसिफले ४३ बलमा १० चौका र ५ छक्का हिर्काए। दुईबीच पहिलो विकेटका लागि १५ ओभरमा १५० रनको साझेदारी भएको थियो।
बलिङमा आर्मीका जितेन्द्र मुखिया र सुमित महर्जनले एक एक विकेट लिए। मुखियाले ४ ओभरमा ५७ रन खर्चिए। जसमा ६ छक्का समावेस छन्। उनीविरूद्ध ती ६ वटै छक्का लोकेश बमले हाेनका थिए।