श्रीलंका भ्रमणमा रहेको जिम्बावेले दोस्रो एकदिवसीय क्रिकेटमा घरेलु टोलीलाई हराउँदै ३ खेलको सिरिज १-१ को बराबरीमा ल्याएको छ।
मंगलबार राति भएको खेलमा जिम्बावेले श्रीलंकालाई २२ रनले हराएको हो। यसअघि पहिलो खेलमा घरेलु टोली श्रीलंका ५ विकेटले विजयी भएको थियो।
जिम्बावेले दिएको ३ सय ३ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको श्रीलंकाले ५० ओभर पुरै खेल्दै ९ विकेट गुमाएर २ सय ८० रन मात्र बनाउन सक्यो ।
उसका लागि कप्तान डसुन शनकाले १ सय २ रनको शतकीय इनिङ्स खेले पनि हार टार्न सकेनन्।
कामिन्दु मेन्डीसले ५७ रन जोड्दा चामिका करुनारत्नेले ३४ रन बनाए। यस्तै चारिथ अस्लान्का २३ रनमा आउट भएका थिए। पाथुम् निशान्का १६ तथा दुसमान्था चमेराले १३ रन बनाउनुबाहेक अन्य ब्याटररले दोहोरो अंकमा रन बनाउन सकेनन्।
जिम्बावेका टेण्डाई चतरा र ब्लेसिङ मुजराम्बानीले समान ३-३ विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको जिम्बावेले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै ३ सय २ रन बनाएको थियो।
जिम्बावेका लागि कप्तान क्रेग इर्भिनले ९१ रन जोड्दा सिकन्दर राजाले ५६ रन बनाए। सिन विलियम्सले ४८ तथा रेगिस चिकभाले ४७ रन जोडेका थिए। रायन बर्लले १९ रन बनाएका थिए।
श्रीलंकाका जेफ्री भान्डरसेले ३ तथा नवन प्रदिपले २ विकेट लिएका थिए।
अब तेस्रो तथा निर्णायक वान डे आगामी शुक्रबार हुनेछ।