दक्षिण अफ्रीकाले पहिलो एकदिवसीय क्रिकेटमा भारतलाई हराएको छ ।
पार्लमा बुधबार राति भएको खेलमा दक्षिण अफ्रिकाले भारतलाई ३१ रनले हराउँदै तीन खेलको सिरिजमा १-० को अग्रता बनाएको छ।
घरेलु टोली दक्षिण अफ्रिकाले दिएको २ सय ९७ रनको लक्ष्य पछ्याएको भारतले निर्धारित ५० ओभरमा ८ विकट गुमाएर २६५ रन मात्र बनाउन सक्यो।
उसका लागि शिखर धवन, विराट कोहली र शार्दुल ठाकुरले अर्धशतकीय पारी खेलेका थिए। धवनले ८४ बलमा १० चौकासहित मद्दतमा ७९ रन बनाउँदा कोहलीले ६३ बलमा तीन चौकासहित मद्दतमा ५१ रन जोडे। त्यस्तै ठाकुरले अविजित ५० रन बनाएका थिए।
श्रेयस अय्यरले १७, ऋषभ पन्तले १६ र कप्तान केएल राहुलले १२ रन जोडे पनि त्यसले हार छार्न सकेन।
दक्षिण अफ्रिकाका लुङ्गी एनजिडी, ताब्रेज शाम्सी र एडिलेले फेहलुकवायोले समान २-२ विकेट लिए। यस्तै एडम मारक्रम र केशव महाराजले पनि एक-एक विकेट हात पारे।
त्यसअघि, टस जितेर पहिला ब्याटिङ रोजेको दक्षिण अफ्रिकाले निर्धारित ५० ओभरमा चार विकेट गुमाएर २ सय ९६ रन बनायो। उसका लागि रसीभान डुरडुसेन र कप्तान तेम्बा बावुमाले शतकीय पारी खेले।
डुसेनले ९६ बलमा ९ चौका र चार छक्काको मद्दतमा अविजित १ सय २९ रन बनाउँदा बावुमाले १ सय ४३ बलमा ८ चौकाको मद्दतमा १ सय १० रन जोडे।
त्यस्तै, क्विन्टक डिककले २७ रनको योगदान दिए। बलिङमा जसप्रीत बुमराहले दुई र रविचन्द्र आश्विनले एक विकेट हात पारेका थिए।
सिरिजअन्तर्गत भारत र दक्षिण अफ्रिकाबीचको दोस्रो खेल आगामी जनवरी २१ मा हुनेछ।
दुवै टिमले टेष्ट श्रृंखलापछि एकदिवसीय सिरिज खेलिरहेको हुन्। टेष्ट सिरिज घरेलु टोली दक्षिण अफ्रिकाले २-१ ले जितेको थियो।