भारतलाई ७ विकेटले हराउँदै घरेलु टोली दक्षिण अफ्रिकाले एक दिवसीय सिरिज जितेको छ।
शुक्रबार बोल्यान्ड पार्क पार्लमा भारतले दिएको २८८ रनको लक्ष्य घरेलु टोलीले मात्र ३ विकेट गुमाएर ११ बल बाँकी छँदै पुरा गर्यो।
यो सँगै तीन खेलको सिरिज घरेलु टोलीले १ खेल अगावै हात पारेको छ।
अफ्रिकाको जितमा जानेमान मालानले सर्वाधिक ९१ रन बनाए। १०८ बल खेलेका उनले ८ चौका र १ छक्का प्रहार गरेका थिए।
क्विन्टन डिककले ७८ रन बनाउने क्रममा ६६ बल खेल्दै ७ चौका र ३ छक्का प्रहार गरेका थिए।
कप्तान तेम्बा बाभुमाले ३५ रन बनाउँदा एडेन माक्ररम र रास्से भान डेर डुसेन समान ३७ रनमा नटआउट रहे।
दक्षिण अफ्रिकाका लागि क्विन्टन डिकक र मालानले पहिलो विकेटका लागि १३२ रनको साझेदारी गरेका थिए। दोस्रो विकेटका लागि मालानले बाभुमासँग ८० रनको साझेदारी गर्दा चौथो विकेटका लागि डुसेन र एडेन माक्ररमले ७४ रनको साझेदारी गरेका थिए।
भारतका लागि जसप्रित बुमराह, युजवेन्द्र चहल र शार्दुल ठाकुरले समान १-१ विकेट लिए।
यसअघि टस जितेर पहिला ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै २ सय ८७ रन बनाएको थियो।
भारतका लागि विकेटकिपर ऋषभ पन्तले सर्वाधिक ८५ रन बनाएका थिए। उनले ७१ बलमा १० चौका र २ छक्का प्रहार गरेका थिए।
यस्तै शार्दुल ठाकुर ३८ बलमा ३ चौका र १ छक्कासहित ४० रनमा अविजित रहँदा रविचन्द्रन आश्विनले २५ रनमा अविजित रहे ।
भारतलाई ओपनर शिखर धवन र लोकेश राहुलले पहिलो विकेटका लागि ६३ रनको साझेदारी गरेका थिए। धवनले २९ रन बनाएर आउट हुनुअघि३८ बलमा ५ चौका प्रहार गरेका थिए। विराट कोहली शुन्य रनमा आउट भएका थिए।
कप्तान लोकेश राहुलले ५५ रन बनाउँदा श्रेयस ऐर ११ र वेंकटेश ऐर २२ रनमा आउट भए।
दक्षिण अफ्रिका तबरेज शाम्सीले सर्वाधिक २ विकेट लिए। सिसान्दा मगला, एडेन माक्ररम, केशव महाराज र एन्डिले फेहलुकवयोले १–१ विकेट लिए।
यो सँगै तीन खेलको एकदिवसीय घरेलु टोली दक्षिण अफ्रिकाले २–० को जित हात पारेको छ।