नेपाली राष्ट्रिय क्रिकेट टिम अहिले आइसिसी टी-२० विश्वकपअन्तर्गत विश्व छनोटका लागि दोस्रो चरणको अभ्यासमा व्यस्त छ।
प्रधानमन्त्री कपअघि पहिलो चरणको अभ्यास गरेको नेपाली टिमले आइतबारदेखि दोस्रो चरणको बन्द प्रशिक्षण सुरू गरेको हो।
विश्व छनोट खेलका लागि टिममा परेका १६ खेलाडीसहित अन्य केही खेलाडीलाई बोलाउँदै प्रशिक्षक पुबुद दसानायकेले बन्द प्रशिक्षणलाई सुचारु गरेका हुन् ।
तर, विश्व छनोटका लागि घोषणा भएका केही खेलाडीमा कोरोना देखिएकोले प्रशिक्षणमा समावेश छैनन्। अभ्यासका लागि कप्तान सन्दीप लामिछाने शनिबार अस्ट्रेलियाबाट स्वदेश फर्किएका थिए।
विश्व छनोट खेल्नु अघि नेपालले ओमानमा चारदेशीय ट्वान्टी–२० शृखंला खेल्नेछ। शृखंलामा नेपालसहित आयोजक ओमान, टेस्ट राष्ट्र आयरल्यान्ड र युएईले प्रतिस्पर्धा गर्नेछन्।
शृखंला नेपालको ग्लोबल छनोटको अभ्यास खेलको रुपमा हेरिएको छ। शृखंला अन्तर्गत पहिलो खेलमा नेपालले ओमनविरुद्ध फेब्रअरी ११ मा खेल्दै छ। यस्तै दोस्रो खेल युएईसँग फेब्रुअरी १२ र तेस्रो खेल फेब्रुअरी १४ मा आयरल्यान्डसँग खेल्दै छ ।
त्यसपछि नेपालले फेब्रुअरी १८ मा ओमानसँग खेल्दै विश्व छनोटको सुरुवात गर्नेछ। नेपालले फेब्रुअरी १९ मा फिलिपिन्स र फेब्रुअरी २१ मा क्यानाडासँग खेल्नेछ ।
समूह ‘ए’ अन्तर्गत विभाजन भएको समूह २ मा नेपाल, क्यानाडा, फिलिपिन्स र ओमन रहेका छन्।
यस्तै समूह १ मा युएई, बहराईन, आयरल्यान्ड र जर्मनी छन्। समूहका शीर्ष दुई टोली सेमिफाइनल प्रवेश गर्नेछन्।
त्यसबाट फाइनल प्रवेश गर्ने दुवै टोली अक्टोबर १६ देखि नोभेम्बर १३ तारिखसम्म अष्ट्रेलियामा हुने आईसीसी पुरुष ट्वान्टी–२० विश्वकपको लागि छनोट हुनेछन्।
नेपाली टिम
सन्दीप लामिछाने, कुशल भुर्तेल, आसिफ शेख, दीपेन्द्रसिंह ऐरी, ज्ञानेन्द्र मल्ल, शरद भेषावकर, आरिफ शेख, करण केसी, जितेन्द्र मुखिया, अभिनास बोहरा, साहब अलाम, कुशल मल्ल, कमलसिंह ऐरी, विवेक यादव, प्रदीप ऐरी, लोकेश बम।