इन्डियन प्रिमियर लिग (आईपीएल) २०२२ मा नयाँ टिमको रूपमा थपिएको लखनउले टिमको आधिकारिक नाम सार्वजनिक गरेको छ।
फ्रेन्चाइज लिँदा लखनउ मात्रै रहेको आरपी सन्जिव गोएन्का ग्रुपको स्वामित्वमा रहेको लखनउको नाम ‘लखनउ सुपर जायन्ट्स’ राखिएको छ।
यसअघि चेन्नाई सुपर किंग्स र राजस्थान रोएल्स सस्पेन्ड हुँदा सन्जिव गोएन्का ग्रुपको स्वामित्वमा राइजिङ पुने सुपर जायन्ट्सले सन् २०१६ र २०१७ मा आइपीएल खेलेको थियो।
फ्रेन्चाइजले ट्वीटरमार्फत आफ्नो नाम सार्वजनिक गरेको हो।
लखनउले केएल राहुलको कप्तानीमा आईपीएल खेल्नेछ। यसका साथै अहिलेसम्म मार्कस स्टोइनिसलाई पनि समावेश गरेको छ।
लखनउले राहुललाई कीर्तिमानी १७ करोड भारुमा अनुबन्ध गरिसकेको छ । यस्तै टिमले अस्ट्रेलियन अलराउण्डर मार्कुस स्टोइनिसलाई ९.२ करोड भारु तथा अनक्याप्ड भारतीय लेग स्पिनर रभी बिस्नोईलाई ४ करोडमा भारुमा अनुबन्ध गरेको छ ।
राहुल र विश्नोई पञ्जावबाट सँगै खेलेका खेलाडी हुन्।
यस्तै जिम्बावेका पूर्व खेलाडी एन्डी फ्लावरलाई मुख्य प्रशिक्षक बनाइएको छ भने भारतीय पूर्व खेलाडी गौतम गम्भीरलाई मेन्टरको रुपमा नियुक्त गरिएको छ।
एन्डी फ्लावर यसअघि पञ्जावको सहायक प्रशिक्षक रहिसकेका छन्।
आइपिएलको अर्को नयाँ टिम अहमदावादले भने आधिकारिक नाम सार्वजनिक गरेको छैन। अहमदावादले कप्तानको रुपमा भारतीय अलराउण्डर हार्दिक पाण्ड्यालाई १५ करोड भारुमा अनुबन्ध गरिसकेको छ।
यस्तै टिमले अफगानिस्तानका स्पीनर रासिद खानलाई पनि १५ करोड भारु र भारतीय ब्याट्सम्यान शुभमन गिललाई ८ करोड भारुमा अनुबन्ध गरेको छ ।
आईपीएलको मेगा अक्सन आगामी फेब्रुअरी १२ र १३ तारिखमा बैंग्लोरमा हुनेछ।