अबिच्युरी
नेपाली राष्ट्रिय क्रिकेट टिमले बुधबारको अभ्यास सत्रमा पूर्वप्रशिक्षक अफ्ताब बलुचको सम्झना गर्यो।
आइसिसी टी-२० विश्वकप २०२२ को विश्व छनोट तयारीमा रहेको नेपाली टिमले सन् २००१ मा नेपालको प्रशिक्षक रहेका बलुचको सम्झना गरेको हो।
एक वर्षभन्दा कम समय नेपालको प्रशिक्षक रहेका अफ्ताबको मंगलबार ६८ वर्षको उमेरमा निधन भएको थियो।
थेरै समय नेपाली टिमको प्रशिक्षक रहे पनि आफ्नो प्रभाव छाड्न सफल अफ्ताब सन् २००१ मा नेपाल आएका थिए।
नेपाल क्रिकेट संघ (क्यान) को तत्कालीन महासचिव विनयराज पाण्डेका अनुसार अफ्ताबलाई पाकिस्तान क्रिकेट बोर्ड (पिसिबी) ले सहयोगस्वरूप नेपाल पठाएको थियो।
'हामीले पहिला पनि भारत र पाकिस्तानबाट प्रशिक्षक मगाएर नेपाली टिमलाई अभ्यास गराइसकेका थियौं, त्यही क्रममा पिसिबीलाई अनुरोध गरेपछि अफ्ताब नेपाल आएका थिए,' पाण्डेले भने, 'उनलाई क्यानले खान र बस्न दिन्थ्यो। अन्य सेवासुविधा पिसिबीबाट नै पाउँथे।'
अफ्ताब नेपाल आएलगत्तै नेपालले बंगलादेशको राजधानी ढाकामा आयोजना भएको एसिसी यू-१७ एसिया कपमा भाग लियो। प्रतियोगितामा नेपाल समूह 'बी' मा परेको थियो। यो समूहमा नेपालले आयोजक बंगलादेश, पाकिस्तान, कुवेत र सिंगापुरसँग प्रतिस्पर्धा गरेको थियो।
नेपालको युवा टिम लिएर ढाका पुगेका अफ्ताबले खेलाडीलाई सधैं उत्प्रेरित गर्ने गरेका थिए। त्यति बेलाको नेपाली यू-१७ टिममा कप्तान शक्ति गौचन थिए भने मुनिक श्रेष्ठ, कनिष्क चौगाईं, यश्वन्त सुवेदी, दिपेश खत्री, प्रमोद बस्नेत, लाक्पा लामा, मनोज कटुवाल, प्रेम चौधरी, बसन्त रेग्मी, इर्फान सिद्धिकी लगायत थिए।
यो टिम बंगलादेशसँग ७ विकेट र पाकिस्तानसँग २३ रनले पराजित भएको थियो। तेस्रो खेलमा कुवेतलाई ५ रनले पराजित गर्दा मुनिक श्रेष्ठले ४३ रन जोडेका थिए। उनै मुनिकले सिंगापुरविरूद्ध ११३ रन जोड्दै इतिहास रचेका थिए।
ओपनर मुनिकलाई शतक प्रहार गर्न प्रशिक्षक अफ्ताबले नै प्रेरणा दिएका थिए। यो शतक नेपालले कुनै पनि आधिकारिक अन्तर्राष्ट्रिय प्रतियोगितामा प्रहार गरेको पहिलो शतक हो।
युवा टिमलाई ढाकामा उत्प्रेरणा दिएपछि अफ्ताबले सिनियर टिमलाई प्रशिक्षण दिएका थिए।
सन् २००१ जुनका लागि तय भएको आइसिसी ट्रफी प्रतियोगिताअघि नेपाली टिमको बन्द प्रशिक्षण बोलाइएको थियो। आइसिसी ट्रफीअघि नेपालका कप्तान पवन अग्रवाल थिए। अग्रवालले अहिले पनि अफ्ताबको प्रशिक्षण भुलेका छैनन्।
काठमाडौंमा भएको प्रशिक्षणमा अफ्ताब खेलाडीलाई फिल्डिङमा बढी केन्द्रित गराउँथे। फिल्डिङ राम्रो गर्न सके विपक्षीलाई दबाब दिन र कम स्कोरमा समेट्न सकिने उनको सिद्धान्त थियो। अर्कोतर्फ नेपाली टिम त्यति बेलासम्म फिल्डिङमा त्यति ध्यान दिँदैन थियो।
'उहाँ फिल्डिङमा बढी केन्द्रित हुनुहुन्थ्यो। युवा खेलाडीलाई रूचाउनु हुन्थ्यो,' अग्रवालले भने।
त्यति बेलासम्म नेपाली खेलाडी फिल्डिङका क्रममा स्लाइड हान्दैनन् थिए। 'उहाँले (अफ्ताब) स्लाइडिङलाई प्रोत्साहन गर्नुभएको थियो। उहाँकै प्रोत्साहनले नेपाली टिममा फिल्डिङमा पनि ध्यान दिनुपर्ने कल्चर बिस्तारै बसेको थियो,' अग्रवाल सम्झन्छन्।
तर नेपाली टिमले आइसिसी ट्रफीका लागि सोचेजति अभ्यास गर्न पाएन। अभ्यासका दौरान काठमाडौंमा निकै पानी पर्यो। अहिले त पानीले अभ्यास बिल्थोल्ने स्थितिमा त्यति बेला कुनै इनडोर हलमा अभ्यास गर्नु कल्पना बाहिरको कुरा थियो।
अहिलेजस्तो रणनीति, टिम संरचना र खेल वातावरणको विषयमा त्यति बेला कुरा हुँदैन थियो।
'बलिङ, ब्याटिङ र फिल्डिङमै ध्यान हुन्थ्यो। स्किलमै केन्द्रित हुने परम्परा थियो। धेरै छलफल पनि गर्दैन थियौं,' अग्रवाल भन्छन्।
बन्द सत्रपछि छनौट गरिएको टिममा अफ्ताबले अग्रवाललाई समेटनन्। उनी वैकल्पिकमा झारिए।
टिम घोषणा गरेपछि नेपाली टिमले दिल्लीबाट क्यानडाका लागि भिसा निवेदन दियो। तर प्रशिक्षक अफ्ताबसहित चार खेलाडीलाई भिसा दिन क्यानडाले अस्वीकार गरिदियो।
भिसा नपाउने खेलाडीमा कप्तान राजु खड्का, राजकुमार प्रधान, कुश गुरुङ र वीरेन्द्र साह थिए। त्यसपछि अग्रवालसहित नवीन घिमिरे, सन्दीप श्रेष्ठ र दुर्गाराज सेनलाई क्यानले नेपाली टिममा राख्दै क्यानडा जान पाएको थियो।
जसले अभ्यास गराएका थिए उनैले भिसा नपाएपछि नेपाली टिम प्रशिक्षकविहीन हुन पुग्यो। अफ्ताबले नेपाली सिनियर टिमको प्रशिक्षक भएर आधिकारिक खेलमा उपस्थित हुन पाएनन्। अफिसियलकै भरमा नेपालले क्यानडा यात्रा गरेको थियो।
त्यति बेलाको नेपाली टिममा पारस लुनिया, जयप्रकाश सराफ, विनोदकुमार दास, पवन अग्रवाल, सन्जम रेग्मी, दीपेन्द्र चौधरी, मेहबुब अलाम, नवीन घिमिरे, परेश लोहनी, दुर्गाराज सेन, मोनिक श्रेष्ठ, सन्दीप श्रेष्ठ र गणेश ठकुरी थिए।
नेपाल एसिसी ट्रफी २००१ मा डिभिजन २ को समूह 'ए' मा परेको थियो। यो समूहमा नेपालले नामिबिया, जर्मनी र जिब्राल्टरसँग खेलेको थियो। नामिबियासँग ८ विकेटले पराजित हुँदा नेपालले जर्मनीलाई २ रन र जिब्राल्टरलाई ३ विकेटले हराएको थियो।
जर्मनीविरुद्ध जित निकाल्दा परास लुनियाले ४ विकेट लिएका थिए। जिब्राल्टरविरुद्धको खेलमा लुनियाले २६ रन र पवन अग्रवालले २६ रन जोडेपछि नेपालले जित हात पारेको थियो।
अफ्ताबको प्रशिक्षणले प्रतियोगितामा राम्रो प्रभाव परेको अग्रवाल बताउँछन्।
'अफ्ताबले भिसा नपाएपछि उहाँको प्रशिक्षणमा हामीले अफिसियल खेल त खेल्न पाएनौं तर टिममा केही प्रभाव पर्यो। विशेष गरी फिल्डिङमा परिवर्तन आएको थियो,' उनी भन्छन्।
क्यानडाको भिसा नपाएपछि अफ्ताब पाकिस्तान फर्किएका थिए। त्यसपछि नेपालले श्रीलंकाका रोए डायसलाई प्रशिक्षक नियुक्त गरेको थियो।