केही केन्द्रीय सदस्यको असन्तुष्टिकाबीच नेपाल क्रिकेट संघ (क्यान) को बोर्ड बैठक भोलि बिहीबार भैरहवामा बस्दैछ।
यसअघि कोरोना संक्रमण घटेको स्थितिमा समेत भर्चुअल रूपमा बस्दै आएको बैठक अहिले भने भौतिक रूपमै हुन लागेको हो।
यसपटकको बोर्ड बैठकमा १० वटा एजेन्डामा छलफल हुने बताइएको छ। जसमा प्रमुख एजेन्डा क्यानको वार्षिक साधारणसभा रहेको छ।
यसअघि धनगढीमा पुस दोस्रो साता गर्ने भनिएको साधारणसभा क्यानका ६ जना केन्द्रीय सदस्यहरूले विरोध गरेपछि स्थगित गरिएको थियो। केन्द्रीय सदस्यहरूले चार वर्षे कार्यकाल सकिएका क्यानका २० जिल्ला क्रिकेट संघको निर्वाचनपछि मात्र साधारणसभा गर्नु पर्ने माग राखेका थिए। २० जिल्ला संघहरूमा अहिले निर्वाचन सकिएको छ तर विवादरहित हुन सकेन।
सिराहा र बर्दिया जिल्लाको सदस्यताको विषयमा विवाद अहिले पनि जारी छ। सिराहाले लहानका पूर्व क्रिकेटरलाई सदस्यता नदिएको भन्दै उनीहरूले राष्ट्रिय खेलकुद परिषद्मा उजुरी दिएका थिए।
उजुरी दिएर निर्वाचन रोक्न भनिए पनि सुनिलकुमार महासेठ माघ ७ मा फेरि अध्यक्ष निर्वाचित भएका थिए। निर्वाचन भएको दुई दिनपछि माघ ९ मा खेलकुद परिषदले प्रक्रिया नपुगेकाले सदस्यता प्राप्त नहुन सनेको ब्यहोराको पत्र पठाएको थियो।
यता बर्दियाले भने क्यानका पूर्वसचिव अशोकनाथ प्याकुरेललाई सदस्यता दिन अस्वीकार गरेको थियो। समयमै निवेदन नदिएको भन्दै सदस्यता नदिएपछि प्याकुरेलले इमेल गर्दै विरोध जनाएका थिए। तर उनको सदस्यताको विषयमा पुर्विचार गरिएको छैन।
क्यान बोर्ड बैठकमा क्यानका विभिन्न समितिको टिओआरको विषयमा पनि छलफल हुनेछ। यसअघि क्यानले गठन गरेका विभिन्न समिति मध्ये छनोट समिति, प्रतियोगिता समिति र प्राविधिक समिति सक्रिय थिए।
तर ती समितिले गर्ने कामको विषयमा भने विवाद भएका थिए। कप्तानको निर्णय गर्दा छनोट समितिसँग समन्वय नगरेको तथा प्राविधिक समितिसँग पनि समन्वय नगरेको भन्दै ती समितिका संयोजकले असन्तुष्टि जनाउने गरेका थिए।
यस्तै ती समितिबाट केही सदस्यले राजीनामा दिएकाले समिति पुनर्गठन र पदपूर्ति पनि बैठकको एजेन्डमा छ। यसअघि छनोट समितिबाट उत्तम कर्माचार्यले राजीनामा दिएका थिए।
क्यानको क्रिकेट, अनुशासन र महिला कमिटी भने सक्रिय हुन सकेनन्। यी समितिको टिओआरमा अध्यक्ष र सचिवले हस्ताक्षर गरेर आइसिसीमा पठाउदा पनि कुनै काम गर्न पाएनन्। किनभने समितिमा आफू निकट व्यक्ति नभएपछि नेतृत्वले विवाद झिकेको असन्तुष्ट पक्षको आरोप छ।
अध्यक्ष र सचिवले टिओआर आइसिसीमा पठाएको एक वर्ष पूरा हुन लागेको र अझै एक वर्ष कार्यकाल हुँदा पनि समितिले पनि कुनै पनि गतिविधि संचालन गर्न नपाएकोअवस्थामा यी समितिलाई सक्रिया बनाउनु पर्ने सदस्यहरूको माग छ।
क्यानका कर्मचारीको करार थप्ने विषयमा पनि बोर्डमा छलफल हुनेछ। क्यानका जनरल म्यानेजर रौनकविक्रम मल्ल, क्रिकेट म्यानेजर विनोद दास र फाइनान्स म्यानेजर रमेश न्यौपानेको करार सकिए पनि क्यानले तीन महिनाका लागि करार थपिसकेको क्यान स्रोतको दाबी छ। करार थपेको निर्णय अनुमोदन गर्ने र बाँकी करार थप गर्ने विषयमा बैठकमा छलफल हुनेछ।
यसअघि क्यानले केन्द्रीय सम्झौतामा नराख्ने भन्दै कारबाहीमा परेका खेलाडीहरू ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी र कमलसिंह ऐरीको कारबाही फिर्ता गर्ने पनि बैठकको एजेन्डा छ। यी खेलाडीले खेलाडी वर्गीकरण त्रुटी भएको भनेर बोलेकै आधारमा क्यानले कारबाही गरेको थियो। पछि ब्यापक विरोध भएपछि क्यानले कारबाही फिर्ता लिने निर्णय भएको थियो। यस्तै वर्गीकरणमा नपरेका रोहितकुमार पौडेल, गुल्शन झा र विक्रम शोवलाई प्रोत्साहन भत्ता दिने सहमति भएको थियो। यो सहमतिलाई बोर्ड बैठकले अनुमोदन गर्नेछ।
विधान संशोधन मस्यौदा समितिको संशोधन प्रस्ताव, नेपाल क्रिकेट प्रशिक्षक संघको अधिवेशनलाई सहयोग र राष्ट्रिय खेलाडी ललित नारायण राजवंशीको उपचार, राष्ट्रिय टिमले लिने प्रतियोगिता र पुरुष तथा महिला राष्ट्रिय खेलाडीहर को २०२२ को केन्द्रीय सम्झौता सम्बन्धमा बैठकमा छलफल हुनेछ।
बैठकअघि असन्तुष्टि
बैठकअघि केही बोर्ड सदस्यले असन्तुष्टि व्यक्त गरेका छन्। केन्द्रीय सदस्य अमीतवीर पाण्डेले कोरोना फैलिरहेको बेलामा बैठकमा भाग लिन नजाने बताए।
'अघिल्लो पटक चितवनमा जादा पनि कोरोना संक्रमित भएर फर्किएको थिए। अहिले पनि स्वास्थ्यस्थिति सामान्य छैन, त्यसैले जान सक्दिन' उनले भने।
गत वर्ष चितवनको बोर्ड बैठकपछि काठमाडौं फर्किए लगत्तै तत्कालिन सचिव अशोकनाथ प्याकुरेल कोरोनाका कारण गम्भीर विरामी परेका थिए। अध्यक्ष चुतरबहादुर चन्द पनि चितवनबाट आएपछि विमारी हुँदा होटल क्वारेन्टिमा बसेका थिए।
अर्का केन्द्रीय सदस्य छुम्बी लामाले असन्तुष्टिका बावजुद आफू बैठकमा भाग लिने बताए।
'यो समय बैठकका लागि उचित होइन। किनभने अहिलेको महामारीको बेला सरकारले पनि विभिन्न आदेश दिएको अवस्था छ। फेरि काठमाडौं बाहिर किन बोलाइयो भन्ने पनि कुरा छ,' उनले भने,'केही महत्वपूर्ण निर्णय गर्नु पर्ने भएकाले बैठक बोलाइएको होला। त्यसैले बैठकमा उपस्थित भएर आफ्ना भनाइ राख्छु।'
उनले यस्तो बेला बोर्ड बैठक केन्द्रीय कार्यालयमा बस्नु पर्नेमा त्यसो हुन नसकेको बताए।
अर्का केन्द्रीय सदस्य ऋषिराम गौतम बैठकका लागि भैरहवा पुगिसकेका छन्। उनले आफ्नो असन्तुष्टि बैठकमा राख्ने बताए।
क्यानका कार्यावहाक सचिव प्रशान्तविक्रम मल्लले यसअघि पनि काठमाडौं बाहिर बोर्ड बैठक बसेको बताउँदै 'क्रिकेटमा लागेपछि देशको जुनसुकै स्थानमा पुग्न पर्ने' बताए।
उनले बोर्ड बैठकको विषयमा केही सदस्यहरूले 'काठमाडौंमा गरेको भए हुन्थ्यो' भन्ने सुझाव दिएको बताए। बैठक पूर्णरुपमा स्वास्थ्य मापदण्ड अपनाएर हुने उनको भनाइ छ।
बैठकका एजेण्डा :
• नेपाल क्रीकेट संघको वार्षिक साधारणसभा सम्बन्धमा।
• समितिहरूको TOR सम्बन्धमा।
• समितिहरूको पुनर्गठन र पदपूर्ती सम्बन्धमा।
• कर्मचारीहरूको करार नवीकरण सम्बन्धमा।
• राष्ट्रिय खेलाडीहरूको आर्थिक कारवाही फिर्ता सम्बन्धमा र ओमान भ्रमणमा रहेका र अनुबन्धनमा नरहेका केही खेलाडीहरूलाई प्रोत्साहन भत्ता दिने सम्बन्धमा।
• विधान संशोधन मस्यौदा समितिको संशोधन प्रस्ताव सम्बन्धमा।
• नेपाल क्रिकेट प्रशिक्षक संघको अधिवेशनलाई सहयोग र राष्ट्रिय खेलाडी ललितनारायण राजवंशीको उपचार सहयोग सम्बन्धमा।
• राष्ट्रिय टोलीले भाग लिन गइरहेको विभिन्न प्रतियोगिता सम्बन्धमा।
• पुरुष तथा महिला राष्ट्रिय खेलाडीहरूको २०२२ को केन्द्रीय सम्झौता सम्बन्धमा।
• विविध सम्बन्धमा।