इंगल्याण्डविरुद्धको तेस्रो टी–२० खेलमा वेस्टइन्डिजले २० रनको सानदार जित निकालेको छ।
बुधबार राति ब्रिजटाउनमा वेस्टइन्डिजले दिएको २२५ रनको लक्ष्य पछ्याएको घरेलु टोली इङ्ल्याण्ड ९ विकेट गुमाउँदै २०४ रनमा समेटिदा वेष्टइन्डिजले जित हात पारेको हो।
इंगल्याण्डका लागि टोम बान्टोन र फिल साल्टले अर्धसतक बनाए पनि हारबाट जोगाउन सकेनन्। बान्टोनले सर्वाधिक ७३ रन बनाउने क्रममा ३९ बल खेल्दै ६ छक्का र ३ चौका प्रहार गरेका थिए। यस्तै साल्टले २४ बलमा ३ चौका र ५ छक्कासहित ५७ रन बनाए। यद्यपि यो जितका लागि भने पर्याप्त रहन सकेन।
वेस्ट इन्डिजका रोमरियो शेफर्डले ३ तथा काइरन पोलार्डले २ विकेट लिए।
यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको वेस्टइन्डिजले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २२४ रनको विशाल योगफल बनाएको थियो।
उसका लागि रोभमन पावेलले सतक प्रहार गरे। ५३ बलमा उनले ४ चौका र १० छक्काको सहयोगमा १०७ रनको महत्वपूर्ण पाली खेलेका थिए। त्यस्तै निकोलास पूरनले ७० रन बनाए। उनले ४३ बलमा ५ छक्का र ४ चौका प्रहार गरेका थिए। अन्य ब्याटरले खुलेर खेल्न सकेनन्।
यो सँगै वेष्टइन्डिजले ५ खेलको सिरिजमा २-१ को अग्रता लिएको छ। अब चौथो टी-२० अन्तर्राष्ट्रिय आगामी आइतबार हुनेछ।