पूर्व राष्ट्रिय क्रिकेटर शक्ति गौचनले यु–१६ राष्ट्रिय क्रिकेट प्रतियोगिता आयोजना गर्ने भएका छन्।
राष्ट्रिय क्रिकेट टोलीमा सफल शक्तिले आफ्नै बुवा स्वर्गीय खड्गप्रसाद गौचनको स्मृतिमा यु–१६ राष्ट्रिय क्रिकेट प्रतियोगिता आयोजना गर्न लागेका हुन्।
गौचन आफैंले स्थापना गरेको स्टार क्रिकेट एकेडेमीले आयोजना गर्न लागेको स्व. ‘खड्गप्रसाद गौचन स्मृति यु–१६ राष्ट्रिय क्रिकेट प्रतियोगिता’ को यो चौथो संस्करण हो।
शक्तिले यसअघि बुवाकै स्मृतिमा तीन वटा प्रतियोगिता सम्पन्न गरिसकेका छन्।
यसअघिका प्रतियोगिता बुवाको निधन भएको दिन माघ १४ गतेदेखि सुरू गर्ने गरिएकोमा यस वर्ष कोरोना संक्रमणका कारण पछि धकेलिएपछि बुवाकै जन्मदिन पारेर सुरु गर्न लागिएको शक्तिले जानकारी दिए।
बुवा खड्गप्रसादको जन्मदिन फागुन १ गते रहेको र सोही दिन प्रतियोगिताको उद्घाटन गरिने शक्तिले बताए।
फागुन १ देखि १३ गतेसम्म भैरहवामा आयोजना हुने प्रतियोगितामा देशभरका १० वटा क्रिकेट एकेडेमीले सहभागिता जनाउने गौचनले जानकारी दिए।
प्रतियोगितामा उनकै स्टार क्रिकेट एकेडेमीसहित धनगढी, साई ग्लोबल, देउखुरी, विराटनगर, ओशिस, पोखरा, काशी नोबल एकेडेमी र न्यु होरोइजन स्पोर्टस् क्लबको सहभागिता रहने छ।
प्रतियोगितामा विजयी टिमले नगद २० हजार र ट्रफी प्राप्त गर्ने छन् भने उपविजेता टिमले १० हजार रुपैयाँ प्राप्त गर्नेछन्।
सन् २००२ मा राष्ट्रिय क्रिकेट टोलीमा आवद्ध भएका शक्तिले क्रिकेटबाट सन्यास लिएपछि रूपन्देहीमै स्टार क्रिकेट एकेडेमीमार्फत् बालबालिकालाई प्रशिक्षण दिँदै आएका छन्।
आफू नेपाली क्रिकेट क्षेत्रबाट नभई क्रिकेट खेल्नबाट मात्र सन्यास लिएको र त्यसपछि पनि क्रिकेटकै विकासमा लागिरहेको उनले बताए।
सानो उमेरदेखि नै दक्ष खेलाडी उत्पादन गर्नुपर्छ भन्ने उद्देश्यले क्रिकेट प्रतियोगिता आयोजना गर्दै आएको शक्तिले बताए।
गत माघ ५ गते भैरहवामा सम्पन्न रुपन्देही क्रिकेट संघको अधिवेशनबाट पराजित भएपछि शक्तिले भावुक बन्दै फेसबुकमार्फत भिडियो सन्देश पोष्ट गरेका थिए।
संघको अधिवेशनमा भैरहवाका व्यवसायी हरि बहादुर थापा अध्यक्षमा निर्वाचित हुँदा शक्ति पराजित भएका थिए।