नेपाल क्रिकेट संघ (क्यान) ले जनरल म्यानेजर रौनक मल्लको करार अवधि थप नगर्ने भएको छ।
बिहीबार भैरहवामा बसेको बोर्ड बैठकले मल्लको कार्यसम्पादन सन्तोषजनक नभएको भन्दै करार अवधि थप नगरेको हो।
यसअघि मल्ल एक वर्षका लागि क्यानको जनरल म्यानेजर नियुक्त भएका थिए।
यता क्रिकेट म्यानेजर विनोद दास र फाइनल म्यानेजर रमेश न्यौपानेको भने करार अवधि एक वर्षका लागि थप भएको छ।
बिहीबारको बोर्ड बैठकमा क्यानले खेलाडीमाथि गरिएको कारबाही फिर्ता लिने निर्णय गर्दै आफ्नो अघिल्लो निर्णय उल्टाएको थियो।
क्यानले तत्कालिन कप्तान ज्ञानेन्द्र मल्ल, उपकप्तान दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी र कमलसिंह ऐरीलाई गरेको कारबाही फिर्ता लिएको हो।
क्यानले गत मंसिर २९ गते अनुशासन उल्लघंन गरेको भन्दै मल्ललाई कप्तान र ऐरीलाई उपकप्तानबाट हटाउँदै सन्दीप लामिछानेलाई नयाँ कप्तानमा नियुक्त गरेको थियो। साथै मल्लसहित चार खेलाडीलाई यसअघि ६ महिनाका लागि केन्द्रीय सम्झौताबाट बाहिर राख्ने निर्णय गरेको थियो।
अनुशासन उल्लङ्घन सम्बन्धि संघले गठन गरेको छानबिन समितिले गरेको सिफारिस बमोजिम चार जना खेलाडीहरूलाई २०२२ को केन्द्रीय सम्झौताको सुरुको ६ महिनाको लागि सहभागी नगराउने संघको अघिल्लो बैठकको निर्णय बिहीबार बसेको बैठकले फिर्ता लिने निर्णय गरेको हो।
यता यसअगाडि ‘बि’ ग्रेडमा रहेका सोमपाल कामीलाई ‘ए’ ग्रेडमा पुन: राखिएको थियो।
यस्तै क्यानले ओमान भ्रमणमा रहेका तर अनुबन्धनमा नरहेका गुल्शन झा, विक्रम सोब र रोहितकुमार पौडेललाई जनही एक लाख र महिला क्रिकेटर ज्योति पाण्डेलाई ५० हजार रूपैयाँ प्रोत्साहन भत्ता दिने निर्णयसमेत गरेको छ।
राष्ट्रिय क्रिकेट खेलाडी ललित नारायण राजवंशीको उपचार खर्चको लागि एक लाख पचाँस हजार सहयोग गर्ने निर्णय गरिएको छ।
यी सबै निर्णय खेलाडीहरूले गरेको माग बमोजिम भएको हो।