आईसीसी विश्वकप लिग-२ अन्तर्गत ओमानविरुद्धको एकदिवसीय सिरिजको पहिलो खेलमा यूएई ४ विकेटको कीर्तिमानी जित निकालेको छ।
शनिबार ओमानको अल अमरेत क्रिकेट मैदानमा भएको खेलमा घरेलु टोलीले दिएको ३०८ रनको विशाल लक्ष्य यूएईले ४९ ओभरमा ६ विकेट गुमाएर पूरा गर्यो। उसका लागि ओपनिङ ब्याट्सम्यान चिराग सुरीले शतकीय पारी खेले।
एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा पहिलो सतक प्रहार गरेका सुरीले १२५ बल खेल्दै १२ चौका र पाँच छक्कासहित ११५ रन बनाए।
यस्तै १९ वर्षिय युवा विकेटपिकर वृत्य अरविन्दले ९३ बलमा १० चौका र २ छक्कासहित ८९ रनको उत्कृष्ट अर्धशतकीय इनिङ खेले। दोस्रो विकेटका लागि सुरी र अरविन्दले १ सय ८० रनको साझेदारी गरेका थिए। युएईको ओडिआईमा कुनै पनि विकेटलाई भएको दोस्रो ठूलो साझेदारीसमेत हो।
त्यस्तै, यूएईको जितमा बसिल हमीदले पनि आक्रामक पारी खेले । उनले ३३ बलमा ६ चौका र दुई छक्कासहित ६१ रन बनाए। मोहम्मद उश्मान २० र रोहन मुस्तफा १५ रनमा आउट भए ।
ओपनिङ ब्याटर मोहम्मद वसीम भने शून्यमै पवेलिएन फर्किए। ओमानका कलिमुल्लाहले तीन, बिलाल खानले दुई र अयान खानले एक विकेट लिए।
त्यसअघि, अल अमरेत मैदानमा टस टस हारेर ब्याटिङको निम्तो पाएको ओमानले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर ३०७ रन बनायो।
उसका लागि जतिन्दर सिंहले शतकीय पारी खेले। ९५ बल खेलेका उनले १४ चौका र चार छक्कासहित १०६ रन बनाए।
एक दिवसीय क्रिकेटमा जतिन्दरको यो दोस्रो शतक हो । त्यस्तै, अयान खानले ९१ बलमा आठ चौका र एक छक्काको सहयोगमा ७८ रनको योगदान दिए। नसीम खुसीले २१ बलमा तीन छक्का र तीन चौकाको सहयोमगा ४२ रनको आक्रामक पारी खेले।
कश्यप प्रजापती १९, सन्दीप गौड १८ र कप्तान जीशान मक्सूद ११ रनमा आउट भए। बाँकी ब्याटरले भने दोहोरो अंकमा समेत रन जोड्न सकेनन्।
यूएईका जाहुर खान, जुनैद सिद्दिकीले दुई-दुई, अहमद राजा र काशिफ दौडले एक-एक विकेट लिए।
ओमान र यूएईबीचको दोस्रो खेल भोलि (आइतबार) हुनेछ । आजको जितसँगै यूएईले अंक तालिकामा पनि सुधार गरेको छ।
यसअघि तालिकाको छैठौं स्थानमा रहेको यूएई नेपाललाई पछि पार्दै पाँचौं स्थानमा उक्लिएको छ। पाँचौं स्थानको नेपाल छैठौंमा खस्किएको छ।
यूएई र नेपालले दुबैले समान ८ खेल खेलेका छन्। युएईले ९ अंक जोड्दा नेपालले ८ अंक जोडेको छ।
आईसीसी विश्वकप लिग-२ मा सात देश समावेश छन्। यो लिग सन् २०२३ मा आयोजना हुने विश्वकपसम्म पुग्ने सिँढी हो। यो प्रतियोगितामा ओमान, यूएईबाहेक नेपाल, अमेरिका, स्कटल्याण्ड, नामिविया र पपुवा न्युगिनी छन्।
लिग-२ मा २१ खेल खेलेको ओमान २९ अंकका साथ शीर्ष स्थानमा छ। त्यस्तै २ खेल खेलेको स्कटल्याण्ड १६ अंकका साथ दोस्रो, १६ खेल खेलेको अमेरिका १४ अंकसहित तेस्रो, ९ खेल खेलेको नामिबिया १० अंकका साथ चौथो स्थानमा छन्।
१२ खेल खेलेको पपुवान्यूगिनी भने तालिकामा अंकविहीन छ।